जिल्ला अस्पतालमा दरबन्दी अनुसार डक्टर छैनन्

जिल्ला अस्पताल गोरखाको क्षमता ५० शैयामा स्तरोन्नती गरिए पनि दरबन्दी अनुसार डक्टर नहुँदा बिरामी रिफर गर्नुपर्ने बाध्यता रहेको छ ।

१५ शैयाको अस्पताललाई २०६९ सालमा स्तरोन्नती गरिएको थियो । स्तरोन्नतीसँगै अस्पतालमा बालरोग, प्रसूति रोग, हड्डी, रेडियोलोजिष्ट, मानसिक, प्याथोलोजिष्ट र र्सजनका विशेषज्ञको दरबन्दी थप भएको थियो । दरबन्दी थप भए पनि डक्टर नहुँदा अहिले सम्बन्धित रोगका बिरामी पोखरा वा काठमाडौँ जानुपर्ने बाध्यता रहेको छ ।

दरन्दी थप भएदेखि नै गोरखा अस्पतालमा डक्टर आएका छैनन् । 'केही समय प्रसूति रोगका डाक्टर हुनुहुथ्यो रे ! त्यसपछि कुनै पनि डक्टरको दरबन्दी पुर्ति भएको छैन ।'-अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट श्रीराम तिवारीले भने ।

स्वास्थ्य विज्ञान प्रतिष्ठान पाटनसँगको समन्वयमा गोरखा अस्पतालमा बाल र प्रसूति रोग विशेषज्ञ डक्टर मात्रै कार्यरत छन् । 'डक्टर नभएपछि जटिल अवस्थाका बिरामी भर्ना गरेर उपचार गर्न सकेका छैनौँ ।'-तिवारीले भने ।

दरबन्दी अनुसार डक्टर अभावको समस्या बारम्बार स्वास्थ्य विभागलाई जानकारी गराएपनि पदपुर्ति हुन नसकेको तिवारीको भनाइ छ । 'यहाँ डक्टरहरू दरबन्दी पार्न नै चाहँदैनन्, के कारण हो ? बुझ्न सकेका छैनौँ ।'-उनले भने ।


हरिराम उप्रेती