जिल्ला अस्पतालमा तीन वर्षदेखि थन्कियो भेन्टिलेटर, सेवाग्राहीलाई समस्या

जिल्ला अस्पतालमा दक्ष जनशक्ति व्यवस्थापन हुन नसक्दा १ करोड रुपियाँ बढी खर्चेर किनेको भेन्टिलेटर मेसिन तीन वर्षदेखि थन्किएको छ ।

कर्णाली प्रदेश सरकारले भेन्टिलेटर सञ्चालनका लागि तालिम प्राप्त दक्ष डाक्टर, स्वास्थ्यकर्मी व्यवस्थापन नगर्दा तीन वर्षदेखि सेवा सञ्चालन गर्न नसकिएको हो । आवश्यक संरचना नहुँदा पनि भेन्टिलेटर सञ्चालनमा समस्या देखिएको कार्यालयका प्रमुख डा. अर्जुन बुढामगरले जानकारी दिनुभयो । तीन वर्षदेखि सञ्चालन नआउँदा बिरामीहरुलाई समस्या भएको उहाँले बताउनु भयो ।

भेन्टिलेटर सञ्चालनका लागि कुनै पनि निकायले चासो नदेखाएपछि मेसिन बिग्रने अवस्था आएको छ । कर्णाली प्रदेश सरकारले ०७६/०७७ मा २ करोड ५८ लाख  रुपियाँ बजेटबाट ६ शैय्याको भेन्टिलेटर र १४ शैय्याको आईसीयू सञ्चालन गर्नको लागि मेसिन तथा बेड खरिद गरेको थियो । आईसियू सेवा सञ्चालन नभए पनि बेड भने प्रयोगमा आइरहेको उहाँको भनाइ छ ।

‘भेन्टिलेटर सेवा सञ्चालनका लागि विशेषज्ञ डाक्टरसहितको दक्ष टिम चाहिन्छ, दक्ष जनशक्ति भए आईसीयू सञ्चालनमा ल्याउन सकिन्छ, अहिलेसम्म आईसीयू सञ्चालनमा ल्याउन सकिएको छैन कसरी भेन्टिलेटर सेवा सञ्चालन गर्नु, खरिद गरेका उपकरण प्रयोगमा आउन नसकी थन्किएका हुन्’ उहाँले भन्नुभयो । २०४४ सालमा स्थापना भएको १५ शैय्याको अस्पताल अहिलेसम्म स्तरोन्नति हुन सकेको छैन ।

अस्पतालले आफ्नै प्रयासले अहिले ४० शैय्याको व्यवस्था गरेर बिरामीलाई सेवा दिँदै आएको छ । अस्पतालका एमडिजिपी डा. अभिषेक सिंहले आईसीयू तथा भेन्टिलेटर सेवा सञ्चालनमा ल्याउन नसक्दा गम्भीर खालका बिरामीलाई नेपालगन्ज पठाउनु पर्ने बाध्यता रहेको बताउनुभयो । अस्पताल विकास समितिका अध्यक्ष प्रमोद श्रेष्ठले जनशक्ति व्यवस्थापन र भवन निर्माण भइसकेको ब्लड बैंक सञ्चालनको पहल भइरहेको बताउनु भयो ।

जिल्ला अस्पतालमा उपचारका लागि आउनु भएका बागचौरका खेमराज वलीले जिल्ला अस्पतालमै भेन्टिलेटर सञ्चालनमा आए आफूहरुलाई सहज हुने बताउनुभयो । ‘अस्पतालमा भेन्टिलेटर छ, तर सञ्चालनमा छैन्, जिल्ला अस्पतालमा नै भेन्टिलेटर सञ्चालनमा भए गम्भीर बिरामीहरु उपचारका लागि जिल्ला बाहिर जानु पर्ने अवस्था हुँदैन’ उहाँले भन्नुभयो ।

Photo20240531Salyan (1)

Photo20240531Salyan (2)


बुद्धिमान पुन