जिल्ला अस्पतालमा पानीको अभाव, सेवाग्राहीलाई सास्ती

  ०८१ असार २० गते

जिल्ला अस्पताल हुम्लामा करिब पाँच महिनादेखि खानेपानीको अभाव भएपछि सेवाग्राहीलाई  सास्ती भएको छ । जिल्ला अस्पताल जस्तो सम्वेदनशील क्षेत्र भए पनि पानीको अभाव भएपछि दैनिक आउने सेवाग्राही खानेपानीबाट वञ्चित हुनु परेकाे छ ।

१५ शैयाको सो अस्पतालमा नियमित पानी नआएपछि सेवा लिन आएका बिरामी लगायत अस्पतालको सरसफाइमा समेत समस्या देखिएको छ ।

अस्पातलमा पानी नहुँदा बिरामीको कपडा धुन नपाएको सिमकोट गाउँपालिका– ५ की सरस्वती रोकायाले गुनासो गर्नुभयो । उहाँले  सुत्केरी आमा र बच्चाको कपडा सफा गर्न पानी नहुँदा साह्रै समस्यामा परेको बताउनुभयो ।

खानेपानीको समस्याले बिरामीदेखि अस्पतालका उपकरण सरसफाइमा समस्या भएको स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख प्रेमबहादुर सिंहले बताउनुभयो । करिब पाँच महिनादेखि खानेपानी अभाव हुँदा खानेपानी उपभोक्ता समितिलाई हारगुहार गरेपनि सुनुवाइ नभएको प्रमुख सिंहको भनाइ छ ।

यस विषयमा खानेपानी उपभोक्ता समितिका अध्यक्ष कर्ण रोकायलाई बुझ्दा उहाँले मुहानबाटै पानी कम आएका कारण जिल्ला अस्पतालमा मात्रै नभइ सदरमुकाम सिमकोटमा यस्तै समस्या रहेको बताउनु भयो ।


नन्द सिंह