जिल्ला अस्पतालमा औषधि अभाव, सेवाग्राही मर्कामा

जिल्ला अस्पतालमा औषधि अभाव हुदाँ सेवाग्राहीहरू मर्कामा परेका छन् । अस्पतालमा  नेपाल सरकारबाट  निःशुल्क प्राप्त हुने औषधि अभाव रहेको छ ।

जिल्ला अस्पतालबाट ७० प्रकारका औषधि निःशुल्क उपलब्ध गराउने व्यवस्था भएपनि ३० प्रकारका औषधि अपुग भएको जिल्ला अस्पतालका मेसु डाक्टर राजेन्द्र जिसीले बताउनु भयो । अस्पतालमा दैनिक ५० देखि ७० जनासम्म बिरामी उपचारकालागि आउने गरेको भएपनि आवश्यक औषधि नहुँदा  बिरामीहरू मेडिकलबाट महङ्गोमा खरिद गर्न बाध्य छन् ।

जिल्ला अस्पतालमा सेवा नपाएपछि बिरामीले निजी क्लिनिकमा महङ्गो शुल्क तिरेर सेवा लिने गरेको पुथाउत्तरगंगा गाउँपालिका–१० का बालकुमार बुढाले बताउनु भयो । ‘जिल्ला अस्पतालको नाम छ त्यसै अनुसार उपचार पाइन्छ होला भनेर सदरमुकाम आउने गरेका छौँ । उपचार पाउने आशमा दुःख कष्टका साथ जिल्ला अस्पतालमा आइन्छ तर, डाक्टरले चेकजाँच पछि हामी कहाँ औषधि छैन भनेर सामान्य खालको औषधि दिएर फर्कानु हुन्छ ।’ बुढाले भन्नु भयो । उहाँले बाध्य भएर निजी क्लिनिकबाट महङ्गो शुल्क तिरेर उपचार गर्नु परेको बताउनु भयो ।

जिल्ला अस्पतालमा स्वास्थ्य चौकी स्तरका औषधि मात्र उपलब्ध छन् ।   सुईबाट दिइने औषधि, बच्चालाई खुवाउने झोल औषधि, सलाइन लगायतका  औषधि नभएको मेसु  जिसीले बताउनु भयो ।

औषधिसँगै जिल्ला अस्पतालमा आवश्यक उपकरण सञ्चालन हुन सकेका छैनन् । कम बिद्युत भोल्टेजका कारण प्रदेश सरकार र स्थानीय तहले उपलब्ध गराएका भिडियो एक्स–रे, एक्स–रे लगायतका मेसिन सञ्चालनमा आउन नसकेको जिल्ला अस्पतालले जनाएको छ । अस्पतालले सामान्य प्रसूति बाहेक शल्यक्रियाको सेवा दिन नसकेका कारण बिरामीलाई उपचारकालागि जिल्ला बाहिर लैजानु पर्ने बाध्यता रहेको छ ।

जिल्ला अस्पताल नयाँ भएकाले अहिलेसम्म औषधि खरिद गर्ने प्रक्रिया नमिलेको र बजेटको समेत व्यवस्था नभएकोले औषधि उपलब्ध हुन नसकेको प्रदेश सभा सदस्य तेजबहादुर ओलीले बताउनु भयो । जिल्ला अस्पताल स्तरको औषधि खरिद प्रक्रिया नमिलेकका करण समस्या भएको बताउदै  छिट्टै आवश्यक औषधि उपलब्ध  गराउने ओलीले बताउनु भयो ।


जयमान बुढा मगर