जिल्ला अस्पतालमा औषधिको अभाव, बिरामीहरुलाई समस्या

जिल्ला अस्पतालमा औषधि अभाव हुँदा उपचार गर्न आउने बिरामीहरुलाई समस्या भएकाे छ । मौसमी बिरामीको सङ्ख्या बढ्दै गएपनि जिल्ला अस्पतालमा औषधिको अभाव भएको हाे ।
१५ शैयाको जिल्ला अस्पतालमा वैशाख पहिलो सातादेखि औषधि अभाव हुँदा उपचार गर्न आउने बिरामीहरु समस्यामा परेका हुन् ।

डाक्टरले लेखेको औषधी निजी मेडिकलमा किनेर प्रयोग गर्न बाध्य भएको बिरामीहरूको गुनासो रहेको छ । पानी नपर्दा यो समय जिल्ला अस्पतालमा बिरामीको चाप बढेको छ । रुघाखोकी, झाडापखाला लगायतका सबै खाले बिरामी उपचारका लागि जिल्ला अपतालमा पुग्दा उपचारपछि औषधि वितरण कक्षमा औषधि नपाएको खार्पुनाथ गाउँपालिका–३ रायाका स्थानीय धन बहादुर टमटाले गुनासो गर्नु भयो ।

जिल्ला अस्पतालमा पाइने निःशुल्क औषधि समेत पाउन नसकेको स्थानीय टमटाको गुनासो छ । आफू बहिनीको उपचारका लागि दुई दिनदेखि भर्ना भएर अस्पतालमा रहेपनि डाक्टरले लेखिदिए अनुसारको औषधि मेडिकलबाट किनेर लगेको बताउनुभयो । चार हजारसम्मको औषधि निजी मेडिकलबाट किनेको र भिटामिनको औषधि समेत नभएको टमटाले गुनासो गर्नुभयो ।

चेकजाँच पछि औषधि लिन जाँदा जिल्ला अस्पतालको औषधि वितरण कक्षमा औषधि नपाएर सेवाग्राही फिर्ता हुने गरेका छन् । डाक्टरले लेखेको औषधि जिल्ला अस्पातलमा नपाउँदा निजी मेडिकलमा जानुपर्ने बाध्यता छ । निजी मेडिकलमा औषधि किन्नको लागि आर्थिक अवस्था कम भएको सिमकोट गाउँपालिका–२ ठेहे गाउँका स्थानीय सेवाग्राही झप्रि सुनारले गुनासो गर्नुभयो । उहाँले पनि जिल्ला अस्पतालमा निःशुल्क पाइने औषधि नपाएको गुनासो पोख्नुभयो । डाक्टरले बिरामी पुर्जामा औषधि लेखे पनि औषधि वितरण कक्षमा औषधि नभएको भनेर निजी मेडिकलमा खरिद गर्न पठाउने गरेको उहाँको भनाइ छ ।

वैशाख महिना यतादेखि जिल्ला अस्पतालमा बिरामीको चाप बढेको मेडिकल अधिकृत डा. सुर्जन कुमार सिंहले बताउनुभयो । यो समय दैनिक ५० देखि ८० जनासम्म बिरामी उपचारका लागि आउने गरेको डाक्टर सिंहको भनाइ छ । लामो समय जिल्लामा पानी नपर्दा मौसमी बिरामीको चाप थपिदै आएको उहाँको भनाइ छ । गाउँघरबाट एक दुई दिनको पैदल हिँडेर जिल्ला अस्पतालमा उपचारका लागि बिरामी आउने गरेको डाक्टर सिंहले बताउनुभयो ।

डाक्टर सिंहका अनुसार जिल्ला अस्पतालमा औषधिको चरम अभाव छ । इमर्जेन्सीमा आकस्मिक सेवाका लागि भर्ना भएका बिरामीले समेत बोमिट (उल्टी) रोक्ने लगायतका औषधि नभएको समस्या आफूले भोगेको सिंहले बताउनुभयो ।

बिरामीलाई अति आवश्यक पर्ने औषधि अभाव हुँदा समस्या भएको उहाँले जानकारी दिनुभयो । ओपिडीमा त औषधि अभावको समस्या छँदैछ तर आकस्मिक कक्षमा समेत औषधिको अभाव रहेको उहाँले बताउनुभयो ।

अस्पतालमा औषधिको अभाव भएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेम बहादुर सिंहले  जानकारी दिनुभयो । जहाज नचल्दा खरिद गरेर जिल्लामा पुग्ने औषधि नेपालगञ्जमा थन्किएको प्रमुख सिंहको भनाइ छ । अबको एक दुई दिनमा जहाज सुचारु भएमा नेपालगञ्जमा थन्किएका औषधि ढुवानी भएर जिल्लामा आइपुग्ने प्रमुख सिंहले बताउनुभयो ।

गाँउमा भएका स्वास्थ्य चौकीमा औषधि पाउन मुस्किल हुन्छ । अस्पातलमा पुग्दा राम्रो औषधि र डाक्टरको चेक जाँचको आशामा बिरामी पुग्छन । डाक्टरबाट चेकजाँच पाएको भएपनि डाक्टरले लेखेको औषधि नपाउँदा सेवाग्राही र बिरामी रित्तो हात फिर्ता हुन बाध्य छन् ।

Photo20240524Humla (4)

Photo20240524Humla (1)

Photo20240524Humla (2)

Photo20240524Humla (6)


नन्द सिंह