जिल्ला अस्पतालमा एम्बुलेन्स सेवा नहुँदा सेवाग्राही समस्यामा

  ०७८ माघ २२ गते

जिल्ला अस्पताल, डोटीमा झण्डै एक वर्षदेखि एम्बुलेन्स सेवा सञ्चालनमा नआएपछि सेवाग्राहीहरुले समस्या झेल्नु परेको छ ।

जिल्लाकै सबैभन्दा ठुलो सरकारी अस्पतालले एक वर्षदेखि एम्बुलेन्स सेवा सञ्चालनमा नल्याएपछि सेवाग्राहीहरुले महँगो भाडा तिरेर बिरामी ल्याउनु परेको दिपायल सिलगढी नगरपालिकाका स्थानीय तथा सामाजिक अभियान्ता सुस्मा मलासीले बताउनु भयो ।’

उहाँले भन्नु भयो– ‘आर्थिक अवस्था कमजोर भएका स्थानीयहरुले महँगो भाडा तिर्न नसकेपछि अस्पताल आउन नै समस्या हुने गरेको छ । सुत्केरी, गर्भवति, ज्येष्ठ नागरिक, अपाङ्ग र आर्थिक अभाव भएका व्यक्तिहरु थप समस्यामा पर्ने गरेका छन् ।

जिल्ला अस्पतालमा एम्बुलेन्स सेवा नभएपछि चर्काे जिपको मुल्य तिरेर सुत्केरी व्याथाबाट पीडित पत्नीलाई अस्पातल ल्याउनु परेको पुर्बिचौकी गाउँपालिका–४ का सेवाग्राही दिपेन्द्र धामीले गुनासो गर्नु भयो ।

उहाँले एम्बुलेन्सका लागि अस्पतालमा फोन गर्दा एम्बुलेन्स बिग्रीएको जावाफ दिएर अस्पताल प्रशासन जिम्मेवारीबाट सजिलै पन्छिदै आएको बताउनु भयो ।

अस्पताल प्रशासनले एम्बुलेन्स सेवा सञ्चालनमा तदारुकता नदेखाएका कारण दुर्घटनामा परेका नागरिकहरुले ज्यान नै जाने अवस्था हुने भएकोले जिल्ला अस्पतालले तत्काल एम्बुलेन्स सेवा सञ्चालनमा ल्याउन आवश्यक रहेको सायल गाउपालिकाका स्थानीय तेजबहादुर डुम्रेलले बताउनु भयो ।

जिल्ला अस्पतालमा १३ वर्ष पुरानो एउटा मात्रै एम्बुलेन्स रहेको र सो एम्बुलेन्सको मर्मत सम्भार गर्न नसकिएको कारण सेवाग्राहीलाई  समस्या भएको जिल्ला अस्पतालका निमित्त प्रमुख बिरेन्द्र रावलले बताउनु भयो ।

उहाँले कार्यालय प्रमुख सरुवा भएर काठमाडौँ गएका कारण र अस्पताल व्यवस्थापन समितिको म्याद गत मङ्सिर महिनामा सकिएका कारण पनि व्यवस्थापनमा समस्या देखिएको बताउनु भयो ।

उहाँले भन्नु भयो– ‘कार्यालय प्रमुख पनि सरुवा भएर जानु भएको छ । अस्पताल व्यवस्थापन समिति पनि छैन् । निमित्त कार्यालय प्रमुखलाई कुनै अख्तियारी नै छैन् । तत्काल एम्बुलेन्स सेवा सञ्चालन गर्न सकिने अवस्था देखिएको छैन् । ’

प्रमुख जिल्ला अधिकारी शंकरबहादुर बिष्टले यस अघि सुदूरपश्चिम प्रदेश सरकारले दिएको एउटा एम्बुलेन्स फिर्ता लगेको र जिल्ला अस्पतालमा रहेको पुरानो एम्बुलेन्स बिग्रेका कारण समस्या देखिएको बताउनु भयो ।

अस्पताल व्यवस्थापन समिति समेत नरहेका कारण थप समस्या देखिएको र जिल्ला अस्पतालमा एम्बुलेन्स सेवा नभएपछि सेवाग्राहीले सास्ती खेप्नु परेको गुनासो आएपछि सुदुरपश्चिम प्रदेश सरकार सामाजिक बिकास मन्त्रालयलाई एम्बुलेन्स उपलब्ध गराइ दिन पत्र समेत पठाइएको प्रमुख जिल्ला अधिकारी विष्टले बताउनु भयो ।


गणेश जोशी