एक महिनादेखि एक्सरे सेवा बन्द भएपछि बिरामीहरु समस्यामा

  ०८० माघ २२ गते

जिल्ला अस्पतालमा एक महिनादेखि एक्सरे  सेवा बन्द भएपछि बिरामीहरु समस्यमा परेका छन् । एक्सरे मेसिन बिग्रेपछि एक महिना सम्म मर्मत कार्य नहुँदा बिरामीलाई समस्या भएकाे हाे ।

जिल्लाको एक मात्रै अस्पतालको एकमात्र एक्सरे मेसिन विगत एक महिना देखि बिग्रिएपछि बिरामीलाई सामान्य एक्सरे गर्न अन्य जिल्लामा पठाउने गरिएको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त कार्यालय प्रमुख डा. कमल ढुङ्गानाले बताउनुभयो ।

एक्सरे मेसिन बिग्रेर मर्मत कार्य हुन नसक्दा सामान्य चोटपटक लगायत अन्य रोगका बिरामीलाई एक्सरे गर्न अन्य जिल्ला पुग्नु पर्ने बाध्यता रहेको छ । जिल्लाका बिकट बस्तीहरुबाट २/३ दिन हिडेर जिल्ला अस्पताल पुगेर सामान्य  चोटपटक देखि जटिल उपचारको लागि जिल्ला अस्पताल ठिनी आउने बिरामी एक्सरे मेसिन  बिग्रेकाले बिरामी लाई सास्ती हुने गरेको नागरिक समाजका अध्यक्ष रुप बहादुर मल्लले बताउनु भयो ।

विद्युतको भोल्टेजमा गडबडी हुँदा एक्सरे मेसिन  बिग्रेको र मर्मत कार्यको लागि पहल भइरहेको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त कार्यलय प्रमुख डा.ढुङ्गानाले बताउनुभयो ।

ट्रान्सफर्मर जडान गर्ने र मेसिन  चलाउन सक्ने विद्युतको भोल्टेज पुगेपछि एक्सरे मर्मत गरी चालु गरिने र जिल्लाको विद्युतको भोल्टेज  स्थिर नहुँदा अस्पतालका धेरै मेसिन  उपकरणहरू बिग्रिएर थन्क्याएको उहाँले बताउनुभयो ।

जिल्लामा एक्सरेको अरु कुनै विकल्प नभएपछि बिरामीलाई अन्य जिल्ला जान र आउन बढि खर्च लाग्ने गरेको एक बिरामी सकबिर नाथ योगिले बताउनु भयो ।

जिल्लाका दुर्गम भेगका जनताहरूलाई स्वास्थ्य सेवा उपलब्ध गराउने उद्धेश्यले २०६३ सालमा १५ शैयाको अस्पताल सञ्चालनमा आएको थियो । जिल्ला अस्पतालमा बिरामीको लागि अझै व्यवस्थित र भरपर्दो हुन सकेको छैन । कोरियाली सरकारले अस्पतालको आवश्यक उपकरणहरूसहित भौतिक पूर्वाधार निर्माण गरी दिए पनि आन्तरिक रुपमा जनशक्ति अभाव र उपकरणहरू सञ्चालन नहुँदा बिरामीहरु समस्यामा पर्दै आएका छन्।

Photo20240205Mugu


सर्जन कुमार शाही