जिल्ला अस्पतालका चिकित्सक आन्दोलित, बिरामीलाई समस्या

जिल्ला अस्पताल, बैतडीमा कार्यरत चिकित्सकहरुले आकस्मिक बाहेकका सेवाहरु बन्द गरी आन्दोलन सुरु गरी यस क्षेत्रका सेवाग्राही तथा बिरामीहरु समस्यामा परेका छन् ।

०८० साउन महिनादेखि अतिरिक्त सेवा तथा विदाको दिन सेवा गरेबापतको रकम भुक्तानी नगरेको भन्दै चिकित्सकहरु आन्दोलनमा उत्रिएपछि बिरामीहरुलाई समस्या भएको हो ।

स्वास्थ्यकर्मीहरुले आकस्मिक बाहेकका अन्य सेवाहरु बन्द गरेपछि ग्रामीण क्षेत्रबाट उपचारका लागि आउने बिरामीहरु उपचार नै नपाएर फर्किनु पर्ने अवस्था सृजना भएको र आर्थिक अवस्था कमजोर भएका परिवारका बिरामीहरुले थप समस्या भोग्नुपरेको स्थानीय सेवाग्राही अम्मरबहादुर चन्दले बताउनु भयो ।

सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयलाई पटकपटक पत्राचार गर्दा समेत आफूहरुले पाउनु पर्ने सेवासुविधाका बारेमा चासो नदेखाएकाले दबाव स्वरुप आन्दोलनमा उत्रिनुपरेको जिल्ला अस्पताल, बैतडीका डाक्टर हरीष बिष्टले बताउनु भयो ।

बिरामीको सेवामा अहोरात्र खटिदा समेत मन्त्रालयले आफूहरुको रकम भुक्तानी नगरी श्रम शोषण गरेका चिकित्सकहरुको आरोप छ ।

डाक्टर बाहेक जिल्ला अस्पतालका अन्य कर्मचारीहरुले समेत अतिरिक्त सेवा बापतको रकम पाउन नसकेको जिल्ला अस्पताल, बैतडीका डाक्टर धिरज जैसवालले बताउनु भयो ।

उहाँले भन्नु भयो– ‘हामीले विगतदेखिनै रकम भुक्तानीका लागि माग गरेका हौँ । तर, मन्त्रालयले उक्त माग सम्बोधन गरेको छैन् ।’

अस्पतालको सेवा प्रभावित हुने भएपछि यहाँका बिरामी तथा सेवाग्राहीहरुलाई समेत समस्या हुने देखिएको छ । डाक्टर तथा अस्पतालका कर्मचारीहरुको टोलीले जिल्ला प्रशासन कार्यालयको समेत ध्यानाकर्षण गराएका छन् ।

चिकित्सकहरुले सुरु गर्नुभएको आन्दोलनका कारण बिरामीहरुले सास्ती खेप्नु पर्ने अवस्था सृजना भएपछि समस्या समाधानका लागि मन्त्रालायसँग छलफल गर्न आफू धनगढीमै रहेको जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष पार्वती भट्टले बताउनु भयो ।

उहाँले भन्नु भयो– ‘माग पूरा नभएसम्म ओपिडी सेवा सञ्चालन नगर्ने डाक्टर तथा कर्मचारीहरुको अडान छ । यहाँका नागरिकहरुले समेत समस्या भोग्नुपरेको छ । बिरामीहरुले समस्या भोग्नु नपरोस् भनेर स्वास्थ्यकर्मीहरुको माग सम्बोधनका लागि पहल भइरहेको छ ।’

स्थानीय नागरिक तथा बिरामीहरुलाई समस्या हुने कार्य नगर्न चिकित्सकहरुलाई अनुरोध गरिएको र चिकित्सकहरुका जायज मागहरु सम्बोधन गर्नका लागि पहल गरिरहेको प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले बताउनु भयो ।


नरी बडु