जिल्ला अदालतको मुद्दा फर्छ्यौटमा लक्ष्य भन्दा बढी प्रगति

पर्वत जिल्ला अदालतले गत आर्थिक वर्षमा लक्ष्य भन्दा बढी मुद्दा फर्छ्यौट गरि प्रगति हासिल गरेको छ । अदालतले आर्थिक वर्ष ०७८/०७९ को तुलनामा आर्थिक वर्ष ०७९/८० मा लक्ष्य भन्दा बढी प्रगति गरेको हो ।

आर्थिक वर्ष ०७८/०७९ मा ७० प्रतिशत लक्ष्य राखेको पर्वत जिल्ला अदालतले ६५ प्रतिशत मात्रै प्रगति हासिल गरेको थियो भने आर्थिक वर्ष ०७९/८० मा ६५ दशमलव ५ प्रतिशत अनुमानित लक्ष्य राखेकोमा ८२ दशमलव ८४ प्रतिशत प्रगति गरेको छ ।

अदालतका श्रेष्तेदार राजु ढुंगानाले दिएको जानकारी अनुसार कुल जम्मा ६ सय ८२ थान मुद्दा मध्ये ५ सय ६५ थान मुद्दा किनारा लगाएर फर्छ्यौट गरेको छ । पर्वत जिल्ला अदालतमा आर्थिक वर्ष ०७९÷८० मा ४ सय ५३ थान मुद्दा नयाँ दर्ता भएका थिए भने २ सय २९ थान मुद्दा अघिल्लो आर्थिक वर्षबाट लगत सरेर आएका थिए ।

ढुंगानाका अनुसार यस वर्ष दुनियाबादी देवानी मुद्दा अत्यधिक मात्रामा दर्ता भएका थिए । जस मध्ये ३ सय ३८ मुद्दा फर्छ्यौट भएका छन् । त्यस्तै प्रकृतिका आधारमा १ सय ३८ मुद्दा सरकारबादी, १ सय ३४ मुद्दा दुनियावादी फौजदारी, १ मुद्दा निषेधाज्ञा बन्दिप्रत्यक्षीकरण र ९ ओटा मुद्दा विभिन्न अर्ध न्यायिक निकायबाट पुनरावेदनका रुपमा दर्ता भएका थिए ।

दुनियाबादी देवानी तर्फ दर्ता भएका मुद्दा मध्ये १ सय ६० थान सम्बन्ध विच्छेदका मुद्दा रहेका थिए । सम्बन्ध विच्छेदका मुद्दा मध्ये १ सय ३७ थान फर्छ्यौट भएका छन् भने २३ थान चालु आर्थिक वर्षका लागि लगत सरेर आएका छन् ।

जिल्ला अदालतले दिएको जानकारी अनुसार गत आर्थिक वर्षमा १३ जना बालबालिका पीडित भएका छन् भने १२ बालबालिका कानुनको विवादमा परेको तथ्याङ्क छ ।

अदालतले फैसला कार्यान्वयन तर्फ पनि ६१ लाख ४४ हजार ५ सय २६ रुपैँया जरिवाना असुल गरेको छ भने ५ सय ८० वर्ष कैद सजाय असुल गरेको छ । पर्वत अदालतलाई अझै ७ करोड ३२ लाख १९ हजार रुपैँया जरिवाना र ५ सय ७४ वर्ष ७ महिना कैद सजाय असुल गर्नुपर्ने चुनौती रहेको छ ।

पर्वत जिल्ला अदालतले सेवा ग्राहीलाई चुस्त दुरुस्त र रणनीतिक योजना अनुरुप सेवा प्रदान गर्दै आइरहेको श्रेष्तेदार राजु ढुंगानाले बताउनुभयो ।

 


सन्तोष थापा