जिल्लास्तरीय बाल अधिकार अनुगमन समिति गठन

आसन्न स्थानीय तह निर्वाचनमा बाल अधिकारको अवस्थाबारे अनुगमन गर्न जिल्लास्तरीय बाल अधिकार अनुगमन समिति गठन भएको छ । निर्वाचन अघि, निर्वाचनको समय र निर्वाचन पश्चात बाल अधिकार हनन् हुने अवस्थाको अनुगमन गर्न समिति गठन भएको हो ।

जिल्ला बाल कल्याण समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी बासुप्रसाद कोइरालाको अध्यक्षतामा जेठ २८ गते बसेको बैठकले अनुगमन समिति गठन गर्ने निर्णय गरेको हो । महिला तथा बालबालिका कार्यालयका बालविकास अधिकृत विष्णुमाया पौडेलको अध्यक्षतामा पाँच सदस्यीय समिति गठन भएको हो ।

समितिमा इन्सेक प्रतिनिधि नरेन्द्रसिंह कार्की, जिल्ला शिक्षा कार्यालय दार्चुलाका विद्यालय निरीक्षक जयराज पन्त, गुड नेभर इन्टरनेशलका रमेश बुढा र पत्रकार महासङ्घ दार्चुलाका अध्यक्ष शङ्करसिंह धामी सदस्य रहेका छन् । अनुगमन समितिले चुनावको अवधिमा बालबालिकाको प्रयोगको अवस्था, विद्यालयहरूमा राजनीतिक दलले गर्ने क्रियाकलापको अनुगमन एवम् रिपोर्टिङ गर्ने जनाइएको छ ।

यस्तै जिल्ला बालकल्याण समितिको बैठकले निर्वाचनको क्रममा बालबालिकाको प्रयोग नगर्न राजनीतिक दलहरूलाई पत्रचार गर्ने निर्णय गरेको छ । अहिले पनि केही विद्यालयहरूको प्रयोग गर्दै राजनीतिक दलहरूले चुनावी आमसभा गर्ने गरेको भन्दै विद्यालयमा कार्यक्रम नगर्न आग्रह गर्ने निर्णय गरिएको छ । समितिले यसअघि राजनीतिक दलबाट भएको प्रतिबद्धतालाई स्मरण गराउँदै पुनः विद्यालयमा राजनीतिक दलका कार्यक्रम र बालबालिकाको प्रयोग नगर्न आग्रह गर्ने निर्णय गरेको हो ।


नरेन्द्रसिंह कार्की