जिल्लामा १ सय २६ ओटा बस्ती पहिरोको जोखिममा

  ०८१ असार २३ गते

जिल्लामा १ सय २६ ओटा मानव बस्ती पहिरोको जोखिममा रहेका छन् । तीन नगरपालिका र सात गाउँपालिका गरेर दश स्थानीय तह रहेको जिल्लामा १ सय २६ बस्ती पहिरोको जोखिममा परेको पाइएको हो । ती मध्ये ३५ बस्ती उच्च जोखिममा छन् भने ९१ बस्ती मध्यम जोखिममा छन् । जसका कारण जिल्लाभर झन्डै ४ हजार परिवार प्रभावित हुने आँकलन गरिएको छ । स्थानीय तह तथा विकास कार्यालयले सडक निर्माणमा जथाभावी डोजर, स्काभेटर प्रयोग गर्दा जमिन हल्लिएका र बर्सातको समयमा परेको पानीले प्रत्येक वर्ष पहिरो जाँदा जिल्लामा १ सय २६ ओटा बस्ती पहिरोको जोखिममा परेका हुन् ।

जिल्लामा समेत कार्यक्षेत्र रहेको भू–संरक्षण कार्यालय तथ्याङ्क अनुसार जिल्लाको १० स्थानीय तह मध्ये बन्गाड कुपिण्डे नगरपालिकाको निगालचुला, माझकाँडा, भदाले, बाग्चौर नगरपालिकाको बाफुखोला, कालिमाटी गाउँपालिकाको काप्रेचौर, काल्चे, रामपुर, लक्ष्मीपुर, छत्रेश्वरी गाउँपालिकाको छाँयाक्षेत्र, झिम्पे, चामी, गुराँसे, खर्सुबास, कपुरकोट गाउँपालिकाको गर्पा, खुमखानी, धनबाङ्ग, गोठीवन, कपुरकोट बजार, कुमाख गाउँपालिकाको स्वीकोट, कालागाउँ पहिरोको जोखिममा परेका छन् ।

यस्तै गत कात्तिक १७ गते जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पका कारण जिल्लाको दार्मा गाउँपालिका–२ मा पर्ने लिरापाजा, डलसिंग, पाजाखोला, साउगाउँ, लिगाछाँप, वडा नम्बर ३ मा पर्ने धुलखर्क, मैनेनी, लेखागाउँ, वडा नम्बर ४ मा पर्ने रतिखोला, भल्चौर, मसिना, सर्सुखोला, गलात, वडा नम्बर ५ मा पर्ने बछेला, लिरेडाँडा, लाम्पाखा, काउलाबोट, जलेखर्क, निगालपानी, भोल्टेगा, पोखरी, भालुखोला, बोहरी, ढाकाडाम कोट, तीनपोखरी, उत्तिसेनी, ढालढुंगा, अधेरीखोला, र वडा नम्बर ६ मा पर्ने किमुटाकुरा, बडाचौर, ओलीगाउँ, सुनारगाउँ, मलिक्चा, मलिबांग पहिरोको जोखिममा परेका छन् ।

ग्रामीण भेगमा डोजर लगाइ सडक खनेका र त्यसकै कम्पनले कमजोर भएका जमिन बर्सातको समयमा पानी पर्ने बित्तिकै पहिरो जाँदा दुई वर्षअघि बाँफुखोलाका ओखरेनी, जरेपानी, अँधेरी, तीनगैरी, चौराडाँडाका सय भन्दा बढी परिवार प्रभावित भएका बागचौर नगरपालिका–१२ बाफुखोलाका स्थानीय दीपक ओलीले जानकारी दिनुभयो । ‘पहिले त्यस्तो केही थाहा थिएन, गाउँका जताततै सडक खनियो, निरन्तर बर्सात हुँदा गाउँनै विस्थापित भयो’ उहाँले भन्नुभयो ।

सडक खन्दा र रुख विरुवा मास्दा भएको भू–क्षयका कारण जिल्लाका धेरै स्थानमा पहिरो गएको भू–संरक्षण कार्यालय प्रमुख दीपेश केसीले जानकारी दिनुभयो । गत वर्षको तथ्याङ्क अनुसार जिल्लाका ९० स्थानका १ सय २६ हेक्टर क्षेत्रफलमा पहिरो गएको छ । ‘जिल्लाको केही भाग पहिरोको जोखिममा छ, भुगोलका कारण त्यस्तो भएको हुनसक्छ’ उहाँले भन्नुभयो ।

जिल्ला विपद व्यवस्थापन समितिका कारण अनुसार गत वर्षको बाढी पहिरोको तथ्याङ्क हेर्दा एक जनाको मृत्यु भएको, ९६ घर पूर्ण र १ सय ३३ घर आशिंक क्षति भएका र ६ सय ४ जना विस्थापित भएका छन् ।

प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मीले निरन्तर वर्षा भइरहेकाले सम्भावित विपदका घटनाको लागि तयारी अवस्थामा रहन जिल्लाका सबै निकायलाई निर्देशन दिइसकेको बताउनुभएको छ ।

‘हाल नेपालमा मनसुन सक्रिय रहेको भनी जल तथा मौषम विज्ञान विभागबाट सूचनाहरु आइरहेको र जिल्लामा पनि निरन्तर वर्षा भैरहेको अवस्था भएकोले खोला तथा नदिनालाका तटीय क्षेत्रमा बसोबास गर्नुहुने मानिसहरुले सर्तकता अपनाउनु हुन अनुरोध गरेका छौँ, भिरालो जमिनमा पनि पहिरोको त्यस्तै जोखिम छ, जोखिमयुक्त क्षेत्रका नागरिकलाई सुरक्षित रहन सचेत गराएका छौँ’ उहाँले भन्नुभयो ।

Photo20240707Salyan (3)

Photo20240707Salyan (2)

 


बुद्धिमान पुन