जिल्लामा स्क्रब टाइफस फैलिँदै

  ०८१ भदौ २६ गते

सल्यानमा पहिलो पटक स्क्रब टाइफस फैलिँएको छ । जिल्ला अस्पतालमा उपचारका लागि आएका बिरामीमा स्क्रब टाइफससँग मिल्दोजुल्दो लक्षण देखिएपछि किट परीक्षण गर्दा नौ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

Photo11092024Salyan

भदौ महिनामा नौ जनामा स्क्रब टाइफस भेटिएको स्वास्थ्य सेवा कार्यालय, सल्यानले जनाएको छ । जसमा आठ जना महिला र एक जना पुरुषमा स्क्रब टाइफसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य सेवा कार्यालय सल्यानका प्रमुख डा. अर्जुन कुमार बुढामगरले जानकारी दिनुभयो । उहाँका अनुसार शारदा नगरपालिकाका चार जना, बागचौर नगरपालिकाका तीन जना तथा छत्रेश्वरी गाउँपालिका र दार्मा गाउँपालिकाका एक/एक जनामा सङ्क्रमण पुष्टि भएको छ । तीमध्ये चार जना १३ वर्षमुनीका बालबालिका रहेको उहाँको भनाइ छ ।

स्क्रब टाइफसका बिरामीमा ज्वरो आउने, पसिना आउने लगाएतका लक्षण देखिएको अस्पतालले जनाएको छ । प्रमुख डा. बुढामगरका अनुसार मुसाले टोकेपछि यो रोगले आक्रमण गर्ने गर्छ । मुसामा लाग्ने माइट नामको सूक्ष्म किराले टोकेमा यो रोग सर्ने गर्छ । एउटा माइटमा रोग सङ्क्रमण भएपछि फुलमा सर्ने र यसको सङ्क्रमण २४ पुस्तासम्म जाने अध्ययनले देखाएको उहाँको भनाइ छ । बेलैमा उपचार गरे निको हुने भए पनि ढिलाइ गरे ज्यानै जान सक्ने डा. बुढामगरले बताउनु भयो ।

डा. बुढा मगरले सुरुमै उपचारमा आउँदा औषधिकै भरमा निको पार्न सकिने भए पनि ढिलो गरी आउँदा भर्ना नै गनुपर्ने अवस्था निम्तिने बताउनु भयो । उहाँले औषधि पाँचदेखि दश दिन प्रयोग गरे बिरामी पूर्ण रूपमा निको हुने बताउनु भयो । यसका साथै सङ्क्रमितले प्रोटिनयुक्त खाना र प्रशस्त झोल पदार्थ खानुपर्ने उहाँको सुझाव छ । उहाँका अनुसार यो रोग सङ्क्रमण भएपछि कतिपयको शरीरमा रातो बिबिरा देखिन्छ भने कतिपयमा नदेखिन पनि सक्छ ।


बुद्धिमान पुन