जिल्लामा सर्पदंशको उपचार नहुँदा समस्या

  ०८० असोज ९ गते

टेम्केमैयुङ गाउँपालिका-९ लेखर्कका ११ वर्षीय बालकको बाँया हातको कान्छी औँलामा ०७९ असोज महिनामा सर्पले टोक्यो ।

जिल्लामा सर्पदंशको उपचार नहुने भएकाले बालकका बाबुले छोराको ज्यान जोगाउनकै लागि भएपनि सर्पदंश भएको औँला तत्कालै काटिदिएको टेम्केमैयुङ गाउँपालिका-९ का वडाध्यक्ष नभराज माङपाहाङ राईले बताउनु भयो ।

टेम्केमैयुङ गाउँपालिका-५ मझौले, टेम्केमैयुङ गाउँपालिका-४ लुङगिन र टेम्केमैयुङ गाउँपालिका-९ लेखर्कका स्थानीय सर्पले टोकेको खण्डमा शरीरका अङ्ग नै काटेर फाल्ने अवस्थामा रहेको वडाध्यक्षले राईले बताउनु भयो ।

जिल्लामा सर्पदंशको उपचार नहुने भएकाले र टेम्केमैयुङ गाउँपालिका-३ स्थित प्राथमिक स्वास्थ्य केन्द्र अन्नपूर्ण पुग्नसमेत घण्टौँ लाग्ने भएकाले टेम्केमैयुङ गाउँपालिका-५, ४ र ९ का स्थानीयलाई सबैभन्दा ठूलो समस्या सर्पदंशको छ ।

नेपालको संविधानको भाग ३, धारा ३५ को उपधारा ३ मा प्रत्येक नागरिकलाई स्वास्थ्य सेवामा समान पहुँचको हकको व्यवस्था गरिएको छ ।

तर, जिल्लामा सर्पदंशको उपचार नहुँदा बिरामीलाई सास्ती छ ।

टेम्केमैयुङ गाउँपालिका-३ स्थित प्राथमिक स्वास्थ्य केन्द्र अन्नपूर्ण पुग्नसमेत घण्टौँ हिँड्नु पर्ने अवस्था भएकाले त्यस क्षेत्रका स्थानीय आधारभूत स्वास्थ्य अधिकारबाट समेत वञ्चित हुनु परेको छ ।

टेम्केमैयुङ क्षेत्रमा सर्पको टोकाइको समयमा उपचार नपाउँदा कतिपयले अकालमा ज्यान गुमाउनु परेको छ ।

आर्थिक वर्ष ०७८-०७९ मा २६ देखि २७ जना सर्पले डसेका बिरामी जिल्ला अस्पतालको सम्पर्कमा आएको स्वास्थ्य कार्यालयका प्रमुख सुमन तिवारीले बताउनु भयो ।

जिल्ला अस्पतालमा सर्पदंशको प्राथमिक उपचार मात्र हुने र प्राथमिक उपचारपछि धरान वा विराटनगर रिफर गर्दा बिचैमा सर्पदंशका बिरामी मर्ने भएकाले मृत्यु यकिन विवरण राख्न नसकिएको प्रमुख तिवारीले बताउनु भयो ।

वर्षातको समयमा ग्रामीण क्षेत्रका अधिकांश सडक बन्द हुने भएकाले र सोही समयमा सर्पदशंका बिरामी बढी हुने भएकाले सबैभन्दा समस्या हुने गरेको स्वास्थ्य कार्यालयका प्रमुख सुमन तिवारीले बताउनु भयो ।

सडक बन्द भएको समयमा एम्बुलेन्स तथा यातायात सेवा नहुँदाको समयमा सर्पदंशका बिरामीलाई जिल्ला बाहिर लैजान नसक्दा बिरामीको मृत्यु हुने वा अङ्गभङ्गको अवस्था जिल्लामा छ ।

स्टेचर तथा डोकोमा बोकेर बिरामीलाई अस्पतालसम्म ल्याउनुपर्ने बाध्यता हुँदा उपचार नपाएर सर्पदंशका बिरामीको ज्यान गएको टेम्केमैयुङ गाउँपालिका-९ का वडाध्यक्ष नभराज माङपाहाङ राईको भनाइ छ ।

जिल्लामा सर्पको टोकाइको स्वास्थ्य उपचारलाई सहज बनाउनुपर्ने भएपनि स्थानीय सरकारले समेत त्यो नगरको टेम्केमैयुङ गाउँपालिका-५ का ३४ वर्षीय एकराज विष्टले बताउनु भयो ।  ‘‘समयमा उपचार नपाउँदा सर्पको टोकाइबाट अकालमा ज्यान गुमाउनु पर्ने अवस्था छ ’’ विष्टले भन्नुभयो,’’ खेतबारीमा काम गर्नै पर्‍यो । काम गर्ने क्रममा ख्याल गर्दा पनि सर्पले टोक्ने सम्भावना बढी हुन्छ । सर्पले टोकेको अवस्थामा उपचार पाउन मुस्किल छ । हाम्रो यो ठाउँबाट स्वास्थ्य सेवा लिनको लागि तीनदेखि चार घण्टा हिँडेर स्वास्थ्य चौकी जानु पर्ने अवस्था छ । जिल्ला अस्पताल पुग्न त झनै समस्या छ ।

०८० भदौको अन्तिम सातादेखि जिल्लामा सर्पदंशका बिरामीहरू बढेका छन् । तर सर्पको टोकाइको उपचार पाउन भने स्थानीयलाई सास्ती छ ।

सर्पले टोकेकाहरू समयमा उपचार नपाएर अकालमा ज्यान गुमाउनु परेको टेम्केमैयुङ गाउँपालिका-५ का ४५ वर्षीय हरिबहादुर लम्सालले बताउनु भयो । जिल्लामा सर्पदंश उपचार नहुने भएकाले सर्पदंशको उपचार जिल्लामै र स्थानीय हतमै हुने गरी व्यवस्थापन मिलाउन स्थानीय सरकारले चासो दिनुपर्ने लम्सालले बताउनु भयो ।

सर्पले टोकेपछि मानिसहरू धाँमीझाँक्रीको खोजीमा समय बिताउने भएकाले पनि सर्पदंशका बिरामीको ज्यान जाने गरेको लम्सालले बताउनु भयो । उहाँले भन्नुभयो- सर्पले खाएपछि जिल्लामा उपचार हुँदैन, बरू झाँक्रीले विसेक बनाइहाल्छन् कि जस्तो लाग्छ ।

भदौको अन्तिम सातादेखि जिल्ला अस्पतालमा तीनदेखि जना सर्पले टोकेका विरामीहरू जिल्ला अस्पतालमा आएको बिरामी रेकर्ड फाइलमा उल्लेख छ ।

जिल्ला अस्पतालमा सर्पको टोकाइको प्राथमिक उपचार मात्र गर्न सकिँछ । धेरै विषालु सर्पले टोकेर रक्तनली नै खराब हुने खालका जटिल अवस्थामा भने बाहिर नै रिफर गर्नुपर्ने बाध्यता छ, जिल्ला अस्पतालका प्रमुख डाक्टर शिवजी रिजालले बताउनु भयो ।

‘सर्प घस्रने प्रजातीको एक प्राणी हो । गर्मी बढेसँगै आफ्नो बासस्थान छोडेर बाहिर निस्कने गर्दछन् । ’ डा.रिजालले भन्नुभयो ‘ सर्पको विषलाई निकै खतरा मानिन्छ ।

भौगोलिक विकटताका कारण सहज रूपमा सर्पदंशको उपचार पाउने अवस्था नरहेको साल्पासिलिछो गाउँपालिका-२ कुलुङका ४३ वर्षीय पवन खत्रीले बताउनु भयो ।

सर्पदंशको उपचार प्रभावकारी रूपमा सञ्चालन गर्न स्वास्थ्यकर्मीलाई तालिम प्रदान गर्नुपर्ने टेम्केमैयुङ गाउँपालिका उपाध्यक्ष रमादेवी राईले बताउनु भयो ।

विशालु सर्पले डसेमा औषधि उपचार महङ्गो हुने भएकाले जिल्ला अस्पतालमा सर्पदंश सेवा सञ्चालन गर्न समस्या भएको  गाउँपालिका उपाध्यक्ष राईले बताउनु भयो ।

नेपालमा ८९ प्रजातिका सर्प पाइने तथ्याङ्क छ । यसमध्ये १७ प्रजातिका सर्पलाई विशालु मानिएको छ ।

सर्प विज्ञहरूका अनुसार सर्पको विषलाई चार वर्गमा बाँडिएको छ । पहिलो वर्ग अन्तर्गतको साइटोटाक्सिनले स्थानीय तन्तु (टिस्यु) लाई क्षतिग्रस्त पार्छ । हिमोटाक्सिनले गर्दा आन्तरिक रक्तस्राव हुने चिकित्सकको भनाइ छ  ।

विषमा रहेको न्युरोटाक्सिन स्नायु तन्त्रलाई क्षतिग्रस्त गर्छ र कार्डियोटक्सिनले सीधा मुटुमा असर गर्छ  ।

जिल्लामा सर्पदंशका विशेषज्ञ डाक्टर नभएको स्वास्थ्य कार्यालयका प्रमुख सुमन तिवारीको भनाइ छ ।


गणेश विष्ट