जिल्लामा सञ्चालित रेडियोको प्रशारण बन्द

अविरल वर्षाका कारण साउन २७ गतेदेखि विद्युत अबरूद्ध हँदा धनकुटामा जिल्लामा सञ्चालित तीन ओटै सामुदायिक रेडियोको प्रशारण पूर्ण रूपमा बन्द भएको छ ।

निरन्तरको वर्षाले विद्युत अबरूद्ध भएको र घाम पनि राम्ररी नलागेका कारण सोलार चार्ज हुन नसकेपछि रेडियो बन्द गर्नु परेको रेडियो मकालु ९२.२ मेगाहर्जका स्टेशन म्यानेजर नैन विश्वकर्माले बताए । उनले भने-"पाँच दिनदेखि रेडियो बन्द गर्नु पर्दा लाखौँको घाटा लाग्यो । अब कहिलेदेखि रेडियो सञ्चालनमा आउने हो ? त्यो पनि अहिलेसम्म टुङ्गो छैन ।"

त्यस्तै विद्युत आपूर्ति हुन नसक्दा सामुदायिक रेडियो रेडियो लालीगुँरास र रेडियो धनकुटा पनि पूर्ण रूपमा बन्द भएका छन् । कहिलेकँही विद्युत आपूर्ति नहुँदा व्याकअपको रूपमा व्याट्रीले रेडियो सञ्चालन गर्दै आएको भएपनि पाँच दिनदेखि निरन्तर विद्युत नआउँदा व्याट्री चार्ज हुन नसकेपछि रेडियो बन्द गर्नुको कुनै विकल्प नभएको रेडियो लालीगुँरासका स्टेशन म्यानेजर विदुर खवासले बताए ।

अविरल वर्षाका कारण टेलिफोन लाइन पनि पाँच दिनदेखि बन्द रहेको छ । टेलिफोन सेवा बन्द भएपछि लाखौँ सेवाग्राही प्रभावित बनेको नेपाल टेलिकमले जनाएको छ । वर्षाका कारण भेडेटार धरान सडकखण्डमा पहिरो गएपछि तराई पहाडको सम्पर्क विच्छेद भएको थियो ।

सडक डार्इभर्सनपछि साउन ३१ गतेदेखि सवारी साधन फाटफुट सञ्चालनमा आएको भएपनि मालबाहक सवारी साधनहरू उक्त सडकबाट आवतजावत गर्न नसकेका कारण दैनिक उपभोग्य वस्तुहरू आपुर्ति हुन सकेको छैन । त्यस्तै पेट्रोल, डिजेलको पनि अभाव सुरू भएको छ ।


सन्तोष रुचाल