जिल्लामा सचेतनाको अभावले बालविवाह बढ्दै

  ०८१ असोज ६ गते

पाल्पामा उचित सचेतनाको अभावमा बालविवाह बढ्दै गएको छ । जिल्लाको दुर्गम निस्दी गाउँपालिकामा आर्थिक वर्ष २०८०/८१ मा ५३ जोडी बालबालिकाले विवाह गरेका छन् । यसरी बालविवाह गर्नेमा कक्षा ८ देखि १० सम्म अध्ययन गर्ने बालबालिका बढी रहेको निस्दी गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारुले बताउनु भयो ।

बालविवाह गर्दा पढाइ बीचमा छोडनुपर्ने, यौन तथा प्रजनन् स्वास्थ्यमा नकरात्मक असर पर्ने र बहुविवाह घटनाहरू बढ्ने, लैङ्गिक र यौन हिंसा बढ्नुका साथै बालबालिकाको समग्र विकासमा बाधा पुग्ने भएकोले बालबालिका र अभिभावकलाई सचेत गराउने अभियान सञ्चालन गरिए पनि बालविवाह न्यूनीकरणमा चुनौती देखिएको अध्यक्ष सारुले बताउनु भयो ।

नेपालको कानुनले १८ वर्ष मुनिको विवाहलाई बालविवाह र विवाह योग्य उमेर २० वर्षपछि तोकेको छ । तर बालबालिकाहरूले भने सानै उमेरमा विवाह गर्ने गरेका छन् । निस्दीलाई २०८३ मा बालमैत्री स्थानीय शासन लागु भएको गाउँपालिका घोषणा गर्ने तयारी गरिए पनि बालविवाह चुतौतीको रूपमा रहेको छ । ५१ ओटा सूचकमध्ये शून्य बालविवाह पनि पर्दछ ।

यसका लागि गाउँपालिकाले बालविवाह अन्त्यका लागि अहिलेसम्म बालविवाह सामूहिक रूपमा बहिस्कार गर्ने निर्णयदेखि बालविवाह न्यूनीकरणमा हाम्रो भूमिका विषयमा आधारभूत तथा मावि तहको वक्तृत्वकला प्रतियोगिता, अन्तर महिला समूह स्तरीय तीज गीत प्रतियोगिता, सडक नाटक प्रदर्शन, आधारभूत र माध्यमिक विद्यालयमा पुगेर विद्यार्थीहरूसँग बालविवाह नगर्ने प्रतिबद्धता सहित हस्ताक्षर सङ्कलन, २५ ओटा विद्यालयमा अभिभावक शिक्षा कार्यक्रम सञ्चालन गरिसकेको बालकल्याण अधिकृत कुश्माखर पाण्डेले बताउनु भयो ।

१३ प्रतिशत किशोरी आमा

स्वास्थ्य कार्यालय, पाल्पाको तथ्याङ्क अनुसार गर्भवती महिलामध्ये करिव १३ प्रतिशत गर्भवती २० वर्षभन्दा कमका छन् । तीन आर्थिक वर्षमा कुल १३ हजार ९ सय ९८ जना गर्भवती महिला मध्ये १ हजार ७ सय ८१ जना २० वर्ष मुनिका अर्थात् १२.७२ प्रतिशत गर्भवती बालिका रहेको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख एवम् तथ्याङ्क अधिकृत टुकप्रसाद पोखरेलले बताउनु भयो ।

२० वर्षभन्दा कम उमेरमा गर्भवती भएका मध्ये निस्दी गाउँपालिकामा सबैभन्दा बढी अर्थात् २५ प्रतिशत रहेका छन् । तिनाउ गाउँपालिकामा २३, माथागढी गाउँपालिकामा २१, रैनादेवी छहरा गाउँपालिकामा १९, रामपुर नगरपालिकामा १५, रिब्दीकोट गाउँपालिकामा १४, पूर्वखोला गाउँपालिकामा १३, रम्भा गाउँपालिकामा ११, बगनासकाली गाउँपालिकामा आठ र तानसेन नगरपालिकामा आठ प्रतिशत किशोरीहरू आमा बनेको उहाँले बताउनु भयो ।

स्थानीय स्तरमा बालविवाह भइरहे पनि उजुरी प्रहरीसम्म भने आउँदैन । यो तीन वर्षको अवधिमा जिल्ला प्रहरी कार्यालयमा दुई ओटा मात्रै बालविवाहका उजुरी परेको जिल्ला प्रहरी कार्यालयका डिएसपी सुगन्ध श्रेष्ठले बताउनु भयो । सन् २०३० सम्म बालविवाह अन्त्य गर्ने लक्ष्यका साथ सरकारले ल्याएको ‘बालविवाह अन्त्यका लागि राष्ट्रिय रणनीति, २०७२ लागु भएको छ । केन्द्रदेखि स्थानीय तहसम्म बालमैत्री शासनको अवधारणा अघि सारिएको छ ।


यज्ञमूर्ति तिमिल्सिना