जिल्लामा मानव अधिकारको अवस्था बारे अन्तरक्रिया कार्यक्रम सम्पन्न

राष्ट्रिय मानव अधिकार आयोग, केन्द्रीय कार्यालयको आयोजनामा ०८० पुस १९ गते मानव अधिकारको अवस्था बारे अन्तरक्रिया कार्यक्रम चरिकोटमा सम्पन्न भएको छ ।

कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै राष्ट्रिय मानव अधिकार आयोग, केन्द्रीय कार्यालयका उपसचिव तथा कार्यक्रमको अध्यक्ष मोहनदेव जोशीले नेपाल सरकारको पाँचौ राष्ट्रिय मानव अधिकार कार्ययोजनाका बारेमा जानकारी गराउँदै त्यसको सोँच, उद्देश्य पुरा गर्न अपनाइने रणनीति, कार्ययोजनामा समेटिएका विषयवस्तु बारे जानकारी गराउनु भयो ।

उहाँले कार्ययोजनामा शिक्षा, स्वास्थ्य, खाद्य, आवास लगायत १८ ओटा विषय समेटिएको र त्यसलाई पुरा गर्न सङ्घीय, प्रदेश र स्थानीय तहमा कार्यान्वयन संयन्त्रको व्यवस्था गरेकोले स्थानीय तहहरूले संयन्त्र गठन गरी कार्यान्वयनमा जनुपर्ने बताउनु भयो ।

त्यसैगरी कार्यक्रममा प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले नेपाल सरकारले तय गरेका नीति, कार्यक्रमलाई कार्यान्वयन गर्ने र त्यसको प्रभावकारीलाई प्राथमिकतामा राखेर काम गर्दै आएको बताउनु भयो । उहाँले मानव अधिकार कार्ययोजना कार्यान्वयन गर्न सबैले आ-आफ्नो क्षेत्रबाट सबैपक्ष लाग्न आग्रह गर्नुभयो ।

इन्सेक जिल्ला प्रतिनिधिले जिल्लामा प्रहरी हिरासतामा यातना, सामाजिक बहिष्कार, जातीय भेदभाव, आत्महत्या, बाल यौन दुरुपयोग, बलात्कार र बलात्कारका प्रयासका घटना बढ्दै गएको इन्सेकले अभिलेख गरेको तथ्याङ्क प्रस्तुत गर्नुभयो ।

आयोगका उपसचिव मोहनदेब जोशीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख बर्जराम घतानी, प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेल, प्रहरी कार्यालय प्रमुख (डिएसपी) दिपक खड्का, इन्सेक जिल्ला प्रतिनिधी, नेपाल पत्रकार महासङ्घका अध्यक्ष दिपशंकर चौँलागाई, नेपाल बार दोलखा इकाइका अध्यक्ष कृष्ण बस्नेत, महिला अधिकारकर्मी सिर्जना कार्की, हुराडेक नेपालका सुन्दर लामिछाने लगायत प्रतिनिधि तथा प्रमुखहरूको सहभागिता रहेको थियो ।

Photo_080-9-19_Dolakha


उद्धव पोखरेल