जिल्लामा मातृ तथा शिशु मृत्युदरको अवस्था : सुरक्षितरुपमा सुत्केरी गराउने सङ्ख्या बढ्दो

  ०८१ जेठ ३० गते

जिल्लामा पछिल्लो समयमा सुरक्षितरुपमा सुत्केरी गराउने सङ्ख्या बढ्दै गएको एक तथ्याङ्कले देखाएको छ । स्वास्थ्य संस्थामै गएर सुरक्षितरुपमा सुत्केरी गराउनेको सङ्ख्या बढेको छ । जिल्ला स्वास्थ्य सेवा कार्यालयको तथ्याङ्क अनुसार आर्थिक वर्षको सुरुदेखि चैत मसान्तसम्म जिल्लामा २ हजार ३ सय ८९ जनाले स्वास्थ्य संस्थामै गएर सुत्केरी सेवा लिएका छन् ।

स्वास्थ्य संस्थामा सुत्केरी हुन आउन थालेपछि जिल्लामा मातृ तथा शिशु मृत्युदरमा कमी आएको जिल्ला स्वास्थ्य सेवा कार्यालय सल्यानका सूचना अधिकारी थलराज डिसीले जानकारी दिनु भयो ।  आर्थिक वर्ष ०७९/०८० मा मातृ मृत्यु एक जनाको भएको थियो भने नवशिशु मत्यु २१ रहेको थियो तर चालु आर्थिक वर्षमा मातृ मृत्युदर शून्य रहेको छ भने नवशिशु मृत्यु ६ मात्र रहेको उहाँले बताउनुभयाे । सामुदायिक स्वास्थ्य कार्यक्रम लगायतका जनचेतनाको प्रभावले जिल्लामा स्वास्थ्य संस्थामा सुत्केरी हुन आउनेको सङ्ख्या बढेको  सूचना अधिकारी डिसीको भनाइ छ ।

उहाँका अनुसार चालु आर्थिक वर्षमा २ हजार ३ सय ८९ जना सुत्केरी हुँदा आर्थिक वर्ष ०७९/०८० मा ३ हजार ६ सय २४, र ०७८/०७९ मा ३ हजार २ सय ५६ जना स्वास्थ्य संस्थामा सुत्केरी भएका छन् ।

चालु आर्थिक वर्षमा दार्मा गाउँपालिकामा १ सय ५०, कुमाख गाउँपालिका १ सय ४३, बनगाड कुपिण्डे नगरपालिकामा २ सय ३८, सिद्ध कुमाख गाउँपालिकामा ६२, बागचौर नगरपालिकामा ३ सय ३५, छत्रेश्वरी गाउँपालिकामा १ सय १, शारदा नगरपालिकामा १ हजार २८, कालिमाटी गाउँपालिकामा १ सय १७, त्रिवेणी गाउँपालिकामा १ सय ८ र कपुरकोट गाउँपालिकामा १ सय ६ जना स्वास्थ्य संस्थामा सुत्केरी भएको उहाँले बताउनु भयो ।

घरमै सुत्केरी गराउँदा विभिन्न खालका जटिलता हुने र अप्ठेरो भएमा ज्यानसमेत जोखिममा हुने भएकाले सुरक्षित सुत्केरी गराउनका लागी धेरैजसो महिलाहरू अहिले स्वास्थ्य संस्थामा जाने गरेको स्वास्थ्य सेवा कार्यालय सल्यानका प्रमुख डा. अर्जुन कुमार बुढा मगरले बताउनुभयो । ‘पहिलेको तुलनामा स्वास्थ्य संस्थामा सुत्केरी गराउने सङ्ख्या बढेको छ । यसरी स्वास्थ्य संस्थामा सुत्केरी हुन आउनेको संख्यामा महिला स्वास्थ्य स्वयंसेविकाको महत्वपूर्ण भूमिका रहेको छ’ उहाँले भन्नुभयो ।


बुद्धिमान पुन