जिल्लामा बालविवाह कायमै हुँदा किशोरीहरूको स्वास्थ्यमा समस्या

  ०८१ कात्तिक १६ गते

जिल्लामा बालविवाह कायमै हुँदा युवती तथा किशोरीहरूको स्वास्थ्यमा समस्या हुँदै गएको छ ।

काखमा सानो बच्चा लिएर बारबर्दिया नगरपालिका-११ की १७ वर्षीया निर्मला चौधरी बस्नु भएको छ । विद्यालय जाने र हातमा कापीकलम हुनुपर्ने उमेरमा हातमा एक वर्षको छोरी रहेको छ । सानै उमेरमा फेसवुकको चिनजान भएर कुराकानी भएपछि भागी विवाह गरेको चौधरीले बताउनु भयो । उहाँले भन्नुभयो - ‘कुराकानी गर्दै जाँदा प्रेम बस्यो, दुबै जनाको सल्लाह मिल्यो भागेर धुमधामसँग विवाह नभए पनि सामाजिक परम्परा अनुसार विवाह भयो ।’ पति कमाउन काठमाडौँ गएपछि घरमा सासुससुरासँग बस्दै आउनु भएकी चौधरीको दैनिकी छोरीको रेखदेख र घरयासी काममा बित्ने गरेको छ । उहाँले भन्नुभयो - ‘बच्चा जन्मँदा अप्रेसन गर्नु परेकोले होला काम गर्दा समस्या हुन्छ । सानोतिनो काम गर्न सक्छु । तर धेरै गाह्रो काम गर्न समस्या हुन्छ । अहिले शारीरिक रूपले समेत कमजोर भएको छ ।’

बर्दिया अस्पतालका अस्पताल नर्सिङ निरीक्षक सपना बाठामगरले कम उमेर गर्भवती भएर सुत्केरी हुन आउनेमा किशोरीमा उच्च जोखिममा रहेको बताउनु भयो । उहाँले भन्नुभयो - ‘कम उमेरमा सुत्केरी हुन आउनेको पाठेघरको मुख नखुल्ने, रक्तअल्पता हुने, शारीरिक अङ्गको विकास नहुँदा लामो समयसम्म बेथा लाग्ने, पीडा बढी हुने गरेको छ ।’ उमेर नपुग्दै हुने विवाह र सानै उमेरमा गर्भधारण गर्दा युवती तथा किशोरीमा चाँडै पाठेघर खस्ने, कुपोषण हुने, बच्चा खेर जाने, बच्चाको विकास राम्रोसँग नहुने रक्तअल्पता हुने जस्ता स्वास्थ्य समस्या हुने गरेको पाइएको उहाँको भनाइ छ ।

राजापुर प्राथमिक स्वास्थ्य केन्द्र, राजापुरका मेडिकल सुपरिटेन्डेन्ट स्त्री तथा प्रसुती रोग विशेषज्ञ डाक्टर कृष्ण खनालले सानो उमेरमा विवाह गर्दा महिलाहरूको शारीरिक र मानसिक स्वास्थ्यमा विभिन्न समस्याहरू देखिने गरेको बताउनु भयो । उहाँले भन्नुभयो – ‘प्रजनन् अङ्ग परिपक्क नहुँदा गर्भमा रहेको बच्चाको विकास नहुने, बच्चा खेर जाने, आमालाई लामो समय व्यथा लाग्ने, फिस्टुला हुने, प्रसुति हुँदा रक्तश्राव अत्यधिक हुने, आमा र बच्चाको ज्यान समेत जान सक्ने, यौन अङ्ग बढी च्यातिने, अप्रेसन गर्नुपर्ने र केहीमा मानसिक समस्याहरू पनि देखिने हुन्छ ।’ उहाँले कम उमेरमा गर्भवती हुँदा आफ्नो गर्भको राम्रोसँग हेरचाह गर्न नसक्ने, आमा र बच्चा दुबैमा कुपोषण र रक्तअल्पता हुने, बच्चा जन्मिएपछि बच्चाको स्याहार सुसार गर्न नसक्ने, स्वास्थ्यमा नकारात्मक असर पर्ने, पछि गएर आङ खस्ने, पाठेघरको मुखको क्यान्सर हुने सम्भावना बढी हुने गरेको बताउनु भयो ।

स्वास्थ्य कार्यालय बर्दियाको पछिल्लो तीन वर्षको तथ्याङ्क हेर्दा बालविवाह न्यूनीकरणमा खासै सुधार आएको देखिँदैन । २० वर्ष भन्दा कम उमेरमा सुत्केरी हुने पहिलो पटक गर्भवती जाँच गर्ने, गर्भपतन गर्ने र परिवार नियोजनको अस्थायी साधन प्रयोग गर्नेको सङ्ख्या हेर्दा लक्ष्य अनुसार सुधार आएको पाइँदैन । स्वास्थ्य कार्यालय बर्दियाको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८०/८१ मा सुत्केरी हुनेहरू ४ सय ८९ रहेको छन् । त्यसैगरी ७ सय ९९ जनाले पहिलो पटक गर्भवती जाँच गराएका छन् । ७९ जना गर्भपर्तन गरेका छन् भने परिवार नियोजनका अस्थायी साधन प्रयोग गर्ने ३ सय २१ जना रहेको छन् । आर्थिक वर्ष २०७९/८० को वैशाखसम्म २० वर्ष भन्दा मुनिका ५ सय २२ जना सुत्केरी भएका छन् । त्यसैगरी ७ सय ५४ जनाले पहिलो पटक गर्भवती जाँच गराएका छन् भने ५१ जनाले सुरक्षित गर्भपतन गराएको छन् भने परिवानियोजनका अस्थायी साधन प्रयोग गर्नेहरू ४ सय ८७ जनाले प्रयोग रहेका छन् ।

आर्थिक वर्ष २०७८/७९ को तथ्याङ्क अनुसार २० वर्ष कम उमेरका १ हजार ७ जनाले पहिलो गर्भवती जाँच गराएको स्वास्थ्य कार्यालय बर्दियाले जनाएको छ । परिवारनियोजनका साधन प्रयोग गर्नेहरू ६ सय ४८ जना रहेको स्वास्थ्य कार्यालयले जनाएको छ भने परिवारनियोजनका अस्थायी साधन प्रयोग गर्नेहरू ५ सय ४६ जना रहेको स्वास्थ्य कार्यालय बर्दियाको पब्लिक हेल्थ नर्सिङ अधिकृत एवम् सूचना अधिकारी पदमा कुमारी श्रेष्ठले जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालयमा विगत तीन वर्षमा पाँच ओटा मात्र बालविवाहका मुद्दा दर्ता भएका छन् । आर्थिक वर्ष २०८०/८१ मा दुई, आर्थिक वर्ष २०७९/८० मा एक र आर्थिक वर्ष २०७८/७९ मा एक ओटा मात्र बालविवाहको मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी ऋषिराम घर्तीमगरले बताउनु भयो ।

डिएसपी घर्तीमगरले समुदायमा सचेतनाको कमी भएकोले पनि बालविवाह हुने गरेको बताउनु भयो । उहाँले भन्नुभयो - ‘परम्परागत रूपमा रहेको रितीरिवाज, सामाजिम सञ्जालको बढ्दो प्रयोग र कानुनी ज्ञानको कमीले समेत बालविवाह हुने गरेको पाइन्छ । सामाजिक सञ्जालको बढ्दो प्रयोगले आमाबुबाको मञ्जरी नै भागेर जाने गरेको पाइन्छ ।' बालविवाहलाई रोक्न कानुनी बारेमा प्रचारप्रसार गर्न आवश्यक रहेको नायब उपरीक्षक घर्तीमगरले बताउनु भयो । उहाँले स्थानीय तहले पाठ्यक्रम निर्माण गर्दा बालविवाहको सम्बन्धी विषय समावेश गर्न जरुरी रहेको बताउनु भयो ।

मुलुकी देवानी संहिता ऐन २०७४ ले विवाह गर्नका लागि न्यूनतम २० वर्ष पुग्नु पर्ने परिभाषित गरेको छ भने सरकारले ‘विवाहवारी २० वर्ष पारी’ नीति ल्याएर कार्यान्वयन गर्न खोजेपनि कम उमेरमा विवाह गरी सुत्केरी हुनेको सङ्ख्या बढी नै रहेको छ । मुलुकी देवानी संहिता ऐन २०७४ ले २० वर्ष उमेर पुरा नभएर विवाह गरे वा गराइए सजाय हुने र विवाह पनि खारेज हुने व्यवस्था रहेको छ । तर ऐनमा व्यवस्था हुँदाहुँदै पनि बालविवाह गर्ने र कम उमेरमा सुत्केरी हुनेको सङ्ख्या हेर्दा अवस्था चिन्ताजनक देखिएको छ ।

कम उमेरमा विवाह गरेको महिलाहरूले कानुनी समस्या समेत भोग्नु परेको बर्दिया जिल्ला अदालय बार एसोसियसनका अध्यक्ष कमलप्रसाद पाण्डेले बताउनु भयो । उहाँले भन्नुभयो - ‘ कम उमेरमा विवाह गर्दा आमा तथा बच्चाको स्वास्थ्यमा पर्ने असर एकतिर छ भने अर्कोतिर कानुनी समस्या समेत भोग्नु परेको छ । २० वर्ष पुरा नभई विवाह गर्दा विवाह दर्ता नहुने, बच्चाको जन्मदर्तामा प्रश्न उठ्ने, विवाह दर्ता नहुँदा विभिन्न कानुनी समस्या आउने गरेको छ । कम उमेरमा विवाह गर्दा महिलाहरूलाई कानुनी हैतियतबाट प्राप्त हुने अधिकारबाट समेत वञ्चित हुनु परेको छ ।'

नेपालको संविधानको धारा ३९ को उपधारा (५) ले कुनै पनि बालबालिकालाई बालविवाह, गैरकानुनी ओसारपसार र अपहरण गर्न वा बन्धक राख्न नपाइने गरी बालबालिकाको हकको रूपमा स्थापित गरेको छ । यी कार्यहरूलाई सङ्घीय कानुन बमोजिम दण्डनीय हुने गरी प्रतिबन्ध लगाएको छ र त्यस्तो कार्यबाट पीडित बालबालिकालाई पीडकबाट कानुन बमोजिम क्षतिपूर्ति पाउने हकको सुनिश्चितता गरिएको छ । त्यस्तै मुलुकी अपराध संहिता ऐन २०७४ को दफा १७३ ले बालविवाह गर्ने व्यक्तिको उमेर २० वर्ष तोकेको छ । तर, बर्दियामा उमेर नपुग्दै हुने विवाह र सानै उमेरमा गर्भधारण गर्दा युवती तथा किशोरीहरूको स्वास्थ्यमा असर परेको छ ।


प्रकाश पौडेल