जिल्लामा अनुदानको चामल अभाव

  ०८१ साउन १४ गते

जिल्लामा अनुदानको चामल अभाव भएपछि सर्वसाधरण नागरिकले बजारमा महङ्गो मूल्यको चामल किन्ने गरेका छन् ।

चन्दननाथ नगरपालिका – ९ का राकेश भण्डारीले भन्नुभयो, खाद्य संस्थानमा अनुदानको चामल नपाउँदा बजारको महङ्गो मूल्यको चामल किन्नु परेको छ । बजारमा २५ किलोको चामल २ हजार ५ सय रुपियाँ पर्ने गरेको छ । तर त्यही चामल खाद्य संस्थानमा अनुदान पाउने हुँदा २ हजार ३ रुपियाँ पर्ने गरेको थियो ।

यस भन्दा कम मूल्यका पनि खाद्य संस्थानमा अनुदानको चामल पाउने गरेको थियो । एक साता अघिदेखि खाद्य संस्थानले चामल वितरण गर्न वन्द गरेको छ । यसको मार हामीले खेप्नु परेको उहाँले गुनासो गर्नुभयो ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड  जिल्ला शाखाले सार्वसाधारणलाई अनुदानको चामल वितरण कार्य बन्द गरेको छ । अनुदनको चामल गोदाममा अभाव भएपछि वितरण गर्न साउन ९ गतेदेखि गरेको हो ।

कम्पनीले खाद्यान्न आपूर्ति व्यवस्थापन र भण्डारण मौज्दात व्यवस्थापनलाई मध्यनजर गर्दै विपत, कारागार, जन्म, मरण बाहेक अन्य सर्वसाधारणलाई अनुदान चामल वितरण वन्द गरिएको शाखा प्रमुख सन्तोष तिवारीले बताउनु भयो ।  अहिले गोदाममा १ हजार ३ सय क्वीन्टल मात्रै चामल मौज्दात रहेको छ  । यो मौज्दात चामल अत्यावश्यकका लागि हो । गोदाममा चामलको मौज्दात न्यून हुँदा वितरण गर्न सकिएको छैन । चामल ढुवानी हुदैछ । साउन २० गतेपछि मात्रै अनुदानको चामल वितरण गरिने उहाँले भन्नुभयो ।


मानदत्त रावल