जिल्लाभरी खानेपानी सङ्कटः २० हजार भन्दा बढी परिवार खोलाको पानी पिउन बाध्य

गत कात्तिक महिनाको पहिलो साता जिल्लामा परेको अबिरल वर्षाका कारण आएको बाढीपहिरोले जिल्लाभरी रहेका खानेपानी योजनाहरु तहसनहस भएको पाँच महिना बितिसक्दा समेत पुनर्निर्माण हुन नसकेपछि यस जिल्लाका झण्डै २० हजार परिवार खोलाको पानी पिउन बाध्य भएका छन् ।

गाउँको चारैतिर पहिरो खसेर मसुराडी गाउँको खानेपानी आयोजना पूर्ण रूपमा क्षतिग्रस्त भएपछि यहाँका २२ परिवार मुक्त हलिया गाउँबाट दुई किलोमिटर टाँढा रहेको खोलाको धमिलो पानी पिउन बाध्य भएको खप्तडछान्ना गाउँपालिका–१ मसुराडी गाउँकी काली कामीले दुखेसो पोख्नु भयो ।

उहाँले भन्नु भयो–‘ गत कात्तिक महिनामा आएको पहिरोले घर बगायो । चार बालबच्चा सहित आफ्नो ज्यान जोगाउन त सफल भए । अहिले छिमेकीको चर्केको घरमा बसिरहेकी छु । आफन्तले दिएको लुगा र खाद्यान्नको भरमा बिहानबेलुका हातमुख जोर्न बाध्य छु ।  त्यसैमाथि पानी कहाँबाट ल्याउने भन्ने पिरलो थपिएको छ ।  आजसम्म मुहानको पानीले गुजारा चलेको थियो । मुहान पनि सुकिसके ।  घर र सम्पत्ति त पहिरोमा परेकै थियो । अब पानी खान पनि नपाइने भयो ।’

खप्तडछान्ना गाउँपालिका–४ डिम्मरतोला गाउँको अवस्था पनि यस्तै छ । बेमौसमी वर्षापछि आएको बाढीले खानेपानी योजनाका सबै संरचना बगाएपछि पाँच किलोमिटर टाढा पुगेर पानी ल्याउनु पर्ने बाध्यता रहेको स्थानीय अर्जुन थापाले दुखेसो पोख्नु भयो ।

उहाँले भन्नु भयो– ‘अहिले गाउँभरिका सबैको काम नै पानी बोक्ने भएको छ । एक गाग्री पानी ल्याउन दिनभरजसो लाग्छ । अरू काम छोडेर भएपनि पानी त खानैपर्‍यो ।’

जयपृथ्वी नगरपालिका–१, पिमी गाउँमा करिब १ करोड लगानीमा निर्मित भेरा खानेपानी योजनाका धाराबाट २४ औँ घण्टा खानेपानी आउने गरेका कारण कुनै समस्या नभएपनि गत कात्तिकमा आएको पहिरोले भेरा खानेपानी योजनाको मुहान नै बगाइ दिएपछि हाल गाउँका २ सय परिवार खानेपानीबाट वन्चित भएको स्थानीय सुस्मिता सिंहले बताउनु भयो ।

उहाँले भन्नु भयो– ‘गौँडा खानेपानी योजनाको पाइप दर्जनौं ठाउँमा पहिरोले बगाएपछि दुवै योजना बन्द भए । वर्षातको समयमा वर्षातका कारण आएको भलको पानी खाने गरेको भएपनि अहिले सबै मुल सुकेपछि दुई घण्टा हिडेर लाइन बसेर पानी ल्याउनु पर्ने बाध्यता रहेको छ । खानेपानी योजनाको पुनर्निर्माण हुन सकेको छैन् ।’

जिल्लाको साइपाल गाउँपालिका बाहेक अन्य ११ ओटा पालिकाका अधिकांश गाउँमा खानेपानीको सङ्कट भएको छ । अधिकांश गाउँका बासिन्दाले वर्षातपछि निस्केको भलको पानी खाइरहेको भएपनि भल सुकेपछि खानेपानीको हाहाकार नै भएको छ ।

खप्तड छान्ना गाउँपालिकामा मात्रै ६६ ओटा खानेपानी योजनामा क्षति भएको साइपाल गाउँपालिकाका सूचना अधिकारी ऐनबहादुर रोकायाले बताउनु भयो । पालिकाभरी खानेपानी योजना क्षतविक्षत हुँदा करिब २ हजार ४ सय परिवारका १३ हजार भन्दा बढी स्थानीय स्वच्छ खानेपानीबाट वञ्चित भएको उहाँले बताउनु भयो ।

कुनै खानेपानी योजनाको मुहान नै पहिरोले बगाएर लगेको, कुनै खानेपानी योजनाको मुहान खोलाले बगाएको र कतिपयको मुहान नै कहाँनिर थियो भनेर थाहै नहुने अवस्था भएको थलारा गाउँपालिका ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाका जलस्रोत अधिकृत छत्र जोशीले बताउनु भयो ।

उहाँले भन्नु भयो, ‘कुनै योजनाको ट्यांकी छैनन् । पालिकाको खानेपानी सञ्जाल पूरै ध्वस्त भयो भन्दा हुन्छ । थलारा गाउँपालिकामा ५० भन्दा बढी खानेपानी आयोजना बाढीपहिरोले क्षतिग्रस्त हुँदा २ हजार ५ सय भन्दा बढी परिवार कुलो, खोलाको पानी खाइरहेका छन । कतिपय गाउँमा त परम्परादेखि नै पानी खाइरहेका कुँवा र धाराहरूको पनि नामोनिसान छैन ।’

बेमौसमी वर्षासँगै आएको बाढी र पहिरोले खानेपानीका मुहान, इन्टेक, रिजर्भवायर ट्यांकी, पाइपलाइन र धारा क्षतिग्रस्त भएपछि जयपृथ्वी र बुङ्गल नगरपालिका, खप्तडछान्ना, बित्थडचिर, केदारस्युँ, थलारा, छबिसपाथीभेरा, दुर्गाथली, सुर्मा, तल्कोट र मस्टा गाउँपालिकाका दर्जनौँ गाउँमा खानेपानीको सङ्कट सुरु भएको हो ।

गाउँको खानेपानी पहिरोले बगाएपछि तीन घण्टा टाढाको खोलाबाट पानी बोकेर खाइरहेको थलारा गाउँपालिका–२ ऐनवाडाकी धनादेवी कुँवरले बताउनु भयो ।

उहाँले भन्नु भयो– ‘गाउँको कुँवा पनि पहिरोले पुरेपछि बिजोग भएको छ । खानेपानीको यस्तो सङ्कट त कहिल्यै भएको थिएन ।’

कतिपय खानेपानी आयोजना मर्मतपछि सञ्चालन गर्न सकिने भएपनि धेरैजसोको मुहान नै बगेकाले पुनर्निर्माण गर्न समेत समस्या भइरहेको खप्तडछान्ना गाउँपालिकाका अध्यक्ष वर्कबहादुर रोकायाले बताउनु भयो ।

उहाँले भन्नु भयो– ‘कुनैकुनै गाउँमा पाइप मात्रै बगाएको छ । त्यहाँ हामीले नयाँ पाइप दिएर मर्मत गर्न लगाएका छौँ । मुहानै बाँकी नरहेको ठाउँमा कसरी पानी ल्याउने भन्ने चिन्ता बढेको छ ।’

खानेपानीका संरचना क्षतिग्रस्त हुँदा महिलालाई निकै दुःख भएको केदारस्युँ गाउँपालिकाकी उपाध्यक्ष निशा ठगुन्नाले बताउनु भयो ।

उहाँले भन्नु भयो– ‘महिलाहरूले राति सुत्न पाएका छैनन् । आधा रातमा उठेर पानी भर्न दौडादौड गर्नु पर्ने अवस्था छ । सम्भव भएका ठाउँमा पहिरोले च्याप्पेका पाइप निकालेर भएपनि पानी चलाउने प्रयास भइरहेको छ । धेरैजसो गाउँमा त्यो पनि सम्भव छैन ।’

विपदका कारण जिल्लाभरी शुद्ध पिउने पानीको अभाव भएकाले पानीजन्य सङ्क्रमण फैलिने जोखिम भएकोले पानीजन्य सङ्क्रमण बढ्न नदिन प्रदूषित पानी प्रयोग गरिरहेका बासिन्दालाई तत्काल सरकारले पानी शुद्धीकरण गर्ने औषधि वितरण गर्नु पर्ने जिल्ला अस्पताल, बझाङका डाक्टर मिलन खड्काले बताउनु भयो ।

बाढीपहिरोले खानेपानीका संरचनामा क्षति पुर्‍याउँदा जिल्लामा २० हजार भन्दा बढी घरधुरीमा खानेपानीको सङ्कट देखिएको प्रारम्भिक अनुमान भएपनि यकिन तथ्याङ्क आउन बाँकी रहेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, डडेल्धुरा अन्तर्गतको फिल्ड कार्यालय, बझाङका प्रमुख भक्तबहादुर खड्काले बताउनु भयो ।

जिल्ला विपद व्यवस्थापन समितिका अध्यक्ष समेत रहनु भएका प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले लापरबाही गरेका कारण क्षतिको विवरण आउन नसकेको बताउनु भयो ।

उहाँले भन्नुभयो₋ ‘पालिकाहरूसँग बुझ्दा २० हजार भन्दा बढी परिवार समस्यामा परेको प्रारम्भिक जानकारी आएको छ । यसको डाटा ल्याउने खानेपानीको अफिसले कामै गरेन ।’ जिल्लाको खानेपानी व्यवस्थापन हेर्ने मुख्य कार्यालय, डडेल्धुरामा रहेका कारण पनि तत्काल समस्या समाधानमा अप्ठेरो परेको प्रमुख जिल्ला अधिकारी अर्यालको भनाइ छ । खानेपानीको चरम समस्या भएका गाउँ पत्ता लगाएर समाधान गर्न पालिकादेखि प्रदेश र संघीय सरकारले पहल गर्न जरुरी भएको समेत उहाँले बताउनु भयो ।


सत्यराज सिंह