जिल्लाभरी औषधि अभावले सर्वसाधारण मर्कामा

जिल्ला जनस्वास्थ्य कार्यालयले खरिद प्रक्रियामा ढिलाई गर्दा आर्थिक वर्षको साढे नौ महिना बित्दासमेत औषधि ल्याउन नसकेपछि जिल्लाभरीका स्वास्थ्य संस्थामा औषधि अभाव भएको छ ।

लामो समयदेखि जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुखविहीन हुनु, आफैं खरिद गर्नुपर्ने औषधिसमेत ल्याउन नसक्नु र आपसी विवादले औषधि अभाव भएपछि बिरामीहरू निजी क्लिनिकबाट औषधि खरिद गर्न बाध्य छन् । अहिले सप्तरीको अञ्चल अस्पताल र भारदह अस्पताल, चार ओटा प्राथमिक स्वास्थ्य केन्द्र र १ सय १२ वटा स्वास्थ्य चौकीमा औषधि नहुँदा बिरामीहरू मर्कामा परेका छन् ।

२०६६ सालमा निशुल्क औषधि वितरण गर्ने घोषणा गरेको सरकारले २०७१ भदौ १३ गते जिल्ला अस्पतालमा ७०, प्राथमिक स्वास्थ्य केन्द्रमा ५६ र स्वास्थ्य चौकीमा ३५ प्रकारका औषधि निशुल्क हुने घोषणा गरेको थियो । तर, सप्तरीका स्वास्थ्य चौकीहरूमा विगत सात महिनादेखि चार/पाँच ओटा बाहेक औषधि नपाइएको बताउँदै स्वास्थ्य चौकी लौनियाका इञ्चार्ज सिनियर अहेब दिपककुमार मण्डलले सिटामोल, पेनकिलर, एल्बेण्डाजोल र बालबालिकाका लागि एण्टिवायोटिक को-टि्रमोक्साजोल मात्र उपलब्ध रहेको जानकारी दिए ।

पखालाले ग्रसित तिलाठी कोइलाडी गाउँपालिका-२ लौनियाका ५८ वर्षीय छोटकैन मण्डलले स्वास्थ्य चौकीबाट औषधि नपाएपछि सदरमुकाम राजविराज पुगेर उपचार गरेको बताए । दम, निमोनिया, रूघाखोकीलगायतका औषधि पनि पर्याप्त नरहेको स्वास्थ्यकर्मीहरू बताउँछन् । 'झाडापखाला, दाद, लुतो, भिटामिनका औषधिहरू ६ महिनादेखि हामीसँग छैन ।'-विषहरिया स्वास्थ्य चौकीका इञ्चार्ज सिनियर अहेव दिपेन्द्रप्रसाद यादवले भने-'सिटामोल पनि न्यून मात्रामा पाइने गरेकोले अभाव छ ।'

औषधि खरिदको लागि टेण्डर सूचनामा नै ढिलाई गरेको कार्यालयले टेण्डर स्वीकृत गर्न र सहमति गर्न समेत थप ढिलाई गर्दा हालसम्म पनि औषधि नआएकाले औषधिका लागि जिल्लालाई पठाइएको ५३ लाखको सदुपयोग हुन सकेको छैन् ।

औषधि पुर्‍याउन नसकेको स्वीकार्दै निमित्त कार्यालय प्रमुख साहले ठेकेदारलाई ताकेदा गर्दा उनले म्याद थप माग्दै निवेदन दिएको जानकारी दिए । निःशुल्क औषधि पाइने भनेर प्रचार गरेपनि स्वास्थ्य संस्थाहरूमा औषधि प्राप्त नभएकाले बिरामीलाई जाँच गरी औषधिका लागि अन्यत्र पठाउन बाध्य भएको स्वास्थ्य चौकी बोरियाका हेल्थ असिस्टेन्ट लालाबाबु गुप्ताले बताए ।


मनोहरकुमार पोखरेल