जिल्लाका ४१ ‌ओटा मतदान स्थल अति संवेदनशील सूचीमा

  ०७९ असोज ३० गते

जिल्ला सुरक्षा समितिको सिफारिसमा केन्द्रीय सुरक्षा समितिले जिल्लाका ४१ ओटा मतदान स्थललाई अति संवेदनशील सूचीमा राखेको छ ।

विगतमा भएका निर्वाचन र स्थानीय तहको पछिल्लो निर्वाचनलाई समीक्षा गर्दै केन्द्रीय सुरक्षा जिल्लाका ९४ ओटा मतदान स्थलमध्ये समितिले ४१ ओटा मतदान स्थललाई अति संवेदनशील र ३७ ओटा मतदान स्थललाई संवेदनशील र १६ ओटा मतदानस्थललाई सामान्य सूचिमा राखेको हो ।

स्थानीय तहको निर्वाचनमा जिल्लामा ज्यानै जाने र दर्जनौं घाइते हुनेगरी भएको घटनालाई दृष्टिगत गरी केन्द्रीय सुरक्षा समितिले नैं यस्तो ठहर गरेको जिल्ला प्रहरी  कार्यालयका प्रमुख डिएसपी गंगाप्रसाद पौडेलले बताउनु भयो ।

सुरक्षा समितिले अति संवेदनशील मतदान स्थलको सूचिमा राखेको मतदान स्थलहरूमा गैरीमुदी, जुँगू, मिर्गे, सुरी, चँखु, मार्वु, डाडाखर्क, जफे र झुले लगायतका स्थानका मतदान स्थल रहेका छन् । सुरक्षा निकायले दोलखाका ९४ वटा मतदान स्थल मध्ये ३७ वटा मतदान स्थललाई संवेदनशील सूचीमा राखेको छ ।

आसन्न निर्वाचनमा पहिलो घेरामा नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र तेश्रो घेरामा नेपाली सेना रहने भन्दै स्वतन्त्रतापूर्वक मतदान गर्न पाउने मतदाताको अधिकारलाई सुरक्षित गरिने स्थानीय प्रशासनले जनाएको छ ।

डिएसपी पौडेलले निर्वाचनमा जिल्लाको शान्ति सुरक्षामा कुनै कमी हुन नदिने बताउनुभयो । उहाँका अनुसार सामान्य मतदान स्थलमा कम्तिमा १५ देखि संवेदनशील स्थलमा अधिकतम १८ जना प्रहरी परिचालन हुनेछ भने ति स्थानमा प्रहरीले निर्वाचन अगाडिदेखि नै विशेष निगरानी गर्नेछ ।

निर्वाचनका लागि जिल्लामा मात्रै १ सय ५० जना थप प्रहरी जवान आइसकेका छन् । प्रत्येक गाउँपालिकामा र नगरपालिकामा मोवाईल गस्ति टोली रहने छन् ।


उद्धव पोखरेल