जिल्लाका ३ हजार १ सय ७८ परिवार स्वास्थ्य बिमाको सुविधाबाट वञ्चित

   २०८१ असार २१ गते

बागमति प्रदेश सरकारले बिमा शुल्क बापतको १ करोड ९ लाख ५८ हजार १ सय ५० रुपैयाँ रकम भुक्तानी नगरिदिँदा दोलखाका ३ हजार १ सय ७८ परिवारका करिब १० हजार नागरिक स्वास्थ्य बिमाको सुविधाबाट बञ्चित भएका छन् । प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८०/८१ को बजेटमा प्रदेशभित्र बसोबास गर्ने लोपोन्मुख, अति सिमान्तकृत, आश्रित तथा ‘ख’ वर्गको अपाङ्गता भएका नागरिकको परिवार र महिला स्वास्थ्य स्वयम‌्सेविकाका परिवारको स्वास्थ्य बिमा गरिदिने व्यवस्था गरेको थियो ।

गत फागुन र जेठमा साईकलबाट बिमा सुविधा पाउने गरी स्वास्थ्य बिमाको फाराम भरेको भएपनि बजेट अभाव देखाएर प्रदेश सरकारले भुक्तानी नदिएपछि ३ हजार १ सय ७८ परिवारले बिमा सुविधा नपाएको स्वास्थ्य बिमा सम्पर्क कार्यालय दोलखाका दर्ता अधिकारी सुशिल कुमार श्रेष्ठले बताउनु भयो ।

जिल्लामा स्वास्थ्य बिमा सुविधा नपाउनेमा २ हजार ७ सय ३२ अति सिमान्तकृत जातिको परिवार, ३ सय ३१ महिला स्वास्थ्य स्वयम‌्सेविकाको परिवार, १ सय ७ ‘ख’ वर्गको अपाङ्गता भएका नागरिकको परिवार तथा आठ लोपोन्मुख जातिको परिवार रहेका छन् ।


उद्धव पोखरेल