जिल्लाका २ सय ३६ बालबालिकामा कडा कुपोषण

  ०७३ मङ्सिर ९ गते

यस वर्षको भदौदेखि कात्तिक महिनासम्म जिल्लाका २७ गाविसका १ हजार ३ सय ५ जना बालबालिका मध्ये २ सय ३६ जना बालबालिकामा कडा कुपोषण र १ सय १४ जना बालबालिकामा कम खाले कुपोषण देखिएको शीघ्र कुपोषण एकीकृत व्यवस्थापन कार्यक्रम हुम्लाले जनाएको छ ।

श्रीनगर, दार्मा, साया, छिप्रा, डाँडाफया स्वास्थ्य चौकी र जिल्ला अस्पतालमा सञ्चालित शीघ्र कुपोषण एकीकृत व्यवस्थापन कार्यक्रमको तथ्याङ्कमा उक्त विवरण उल्लेख छ । ६ महिनामाथि र पाँच वर्षमुनिका १ हजार ३ सय ५ जना बालबालिका मध्ये २ सय ३६ जना बालबालिकामा कडा कुपोषण र १ सय १४ जना बालबालिकामा कम खाले कुपोषण देखिएको शीघ्र कुपोषण एकीकृत व्यवस्थापन कार्यक्रम हुम्लाका प्रमुख डा. स्मृति महतले बताइन् ।

बालबालिका कुनै पनि खालको कुपोषणको शिकार नहुन् भन्ने उद्धेश्यले नेपाल सरकार र स्वास्थ्य मन्त्रालयले सञ्चालन गरेको शीघ्र कुपोषण एकीकृत व्यवस्थापन कार्यक्रम हुम्लाका श्रीनगर, दार्मा, साया, छिप्रा, डाँडाफया स्वास्थ्य चौकी र जिल्ला अस्पतालमा लागु गरिएको थियो ।

यो आर्थिक वर्षको तीन महिनामा २७ गाविसका १ हजार ३ सय ५ जना बालबालिका मध्ये कडा कुपोषण भएका २ सय ३६ जना र कम खाले कुपोषण भएका १ सय १४ जना गरी जम्मा ३ सय ५० जना बालबालिकामा देखा परेको भएपनि २० जना बालक र २७ जना बालिकाको उपचारपछि ठिक भएको डा. महतले बताइन् ।

गत वर्ष ६ महिनादेखि माथि र पाँच वर्षमुनिका बालबालिकाको कूल सङ्ख्याको ७५ प्रतिशतमा कडा कुपोषण देखिएको थियो ।

अहिले जिल्लाका २७ गाविसका सबै स्वास्थ्य संस्था र महिला स्वास्थ्य स्वयम्सेविकामार्फत बालबालिकामा कुनै खाले कुपोषण नलागोस भनी जिल्ला स्वास्थ्य कार्यालयले कुपोषणसम्बन्धी कार्यक्रम सञ्चालन गरेको छ ।

कडा कुपोषित देखिएका बालबालिकाका अभिभावकले खानेपानी र खानामा सुधार गर्ने हो भने सन् २०२० सम्म जिल्लालाई कुपोषण मुक्त जिल्ला बनाउन सकिने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।


नन्द सिंह