जिल्लाका २४ मतदानस्थल अति सम्वेदनशील

  ०७९ असोज २८ गते

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि हुम्लामा २४ वटा मतदानस्थल अति सम्वेदनशील रहेका छन् ।

प्रमुख जिल्ला अधिकारी सीता परियारका अनुसार निर्वाचन स्थलको सुरक्षा विश्लेषणका आधारमा २४ मतदानस्थल अति सम्वेदनशील, २२ सम्वेदनशील र १२ वटा निर्वाचन स्थल सामान्य सूचीमा रहेका छन् ।

यसैगरी हुम्लामा ३२ हजार ८ सय ५७ मतदाता रहेका छन् । जसमध्ये १७ हजार १ सय २८ पुरूष, १५ हजार ७ सय २९ महिला मतदाता रहेका छन् ।

जिल्लामा प्रतिनिधि सभातर्फ एउटा र प्रदेश सभातर्फ दुईवटा निर्वाचन क्षेत्र रहेका छन् । जिल्लाका दुई वटा निर्वाचन क्षेत्रमध्ये मतदाताको सङ्ख्याको आधारमा प्रदेश १ मा १८ हजार ८ सय ३० र प्रदेश २ मा १४ हजार २७ मतदाता रहेका छन ।

हुम्लामा ५९ मतदान केन्द्र र ५८ वटा मतदानस्थल तोकिएका छन् । गत स्थानीय तहको निर्वाचनमा ५४ मतदान केन्द्र र ५२ वटा मतदान स्थल रहेका थिए भने यतिखेर सातवटा मतदान स्थल र पाँचवटा मतदान केन्द्र थप भएको निर्वाचन कार्यालयका निमित्त जिल्ला निर्वाचन अधिकारी श्याम बहादुर रानाले जानकारी दिनु भएको छ ।

उहाँका अनुसार यस अघि वैशाख ३० गतेको स्थानीय तहको निर्वाचन यता मात्रै जिल्लामा ६ सय मतदाता बढेका छन् । २०७९ वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनमा ३२ हजार ५ सय ८१ मध्ये १६ हजार ९ सय ७४ पुरुष र १५ हजार ६ सय ७ महिला मतदाता रहेका थिए ।
त्यसैगरी जिल्ला प्रहरी कार्यालयका डीएसपी कृष्णराज ओझाका अनुसार यो वर्षको प्रतिनिधि सभा तथा प्रदेश सभाका लागि हुने निर्वाचनमा सुरक्षाको आधारमा ३ सय ६० नेपाल प्रहरी, ५ सय ३८ म्यादी प्रहरीलाई खटाइएको छ भने १ सय ५६ जना सशस्त्र प्रहरी बल खटिने भएको बताउनु भयो ।

त्यसै गरी थप सुरक्षाका लागि नेपाली सेनाको टोली पनि तयारी गरिएको प्रमुख जिल्ला अधिकारी सीता परियारले बताउनु भएको छ । सुरक्षा निकायको सम्पूर्ण कमाण्ड जिल्ला सुरक्षा समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारीले जिम्मा लिनु भएको डीएसपी ओझाले जानकारी दिनु भएको छ ।


नन्द सिंह