सप्तरीका १८ ओटा स्थानीय तहमा नमूना मतदान, इन्सेकद्वारा अनुगमन (फोटो फिचर)

  ०७९ मङ्सिर १ गते

आगामी मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभा चुनावलाई लक्षित गर्दै सप्तरीको सबै स्थानीय तहमा ‘नमूना मतदान’ कार्यक्रम कात्तिक ३० गते सम्पन्न भएको छ ।

जिल्ला निर्वाचन कार्यालय, मुख्य निर्वाचन अधिकृतको कार्यालय, जिल्ला प्रशासन कार्यालय र प्रहरी कार्यालयको संयुक्त आयोजनामा जिल्ला १८ ओटा स्थानीय तहमा नमूना मतदान कार्यक्रम सम्पन्न भएको जिल्ला निर्वाचन अधिकारी रमेशकुमार जोशीले जानकारी दिनु भयो ।

कात्तिक ३० गते राजविराज नगरपालिका–७ स्थित नगरपालिकाको कार्यालयको प्राङ्गणमा निर्मित नमूना मतदान केन्द्रमा विभिन्न कार्यालयको प्रतिनिधित्वमूलक सहभागितामा नमूना मतदान कार्य सम्पन्न भएको हो ।

प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा, जिल्ला प्रहरी कार्यालयका एसपी अविनारायण काफ्ले, राष्ट्रिय अनुसन्धान कार्यालयका उपनिर्देशक नरेशबहादुर शाह, आचार संहिता अनुगमन अधिकृत शरणहरी लुइटेल, जिल्ला निर्वाचन अधिकारी जोशी, इन्सेक प्रतिनिधि मनोहरकुमार पोखरेललगायत विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रमुख र प्रतिनिधिहरू, पत्रकार, महिला स्वयम्सेविका, कर्मचारी र नागरिक मतदान कार्यमा संलग्न रहेका थिए ।

नमूना मतदान कार्यको इन्सेक मधेस कार्यालयका संयोजक राजु पासवान, कार्यक्रम फोकल पर्सन बरुण बस्याल, इन्सेक सप्तरी प्रतिनिधि मनोहरकुमार पोखरेल, सिरहा प्रतिनिधि दुर्गा परियारलगायतको टोलीले अनुगमन निरीक्षण गरेको छ ।

नमूना मतदान कार्यमा कर्मचारी, प्रहरी, म्यादी प्रहरीलाई मतदान केन्द्र, मतदाता, मतपत्र र मतपेटिकाको सुरक्षा गर्ने विषयमा अभ्यास गराइएको थियो । प्रतिनिधि सभा र प्रदेश सभातर्फ प्रत्यक्ष र समानुपातिक मतपत्र तथा सदर मतदान गर्ने विषयमा सहयोग पुर्‍याउन नमूना मतदान कार्य गराइएको जिल्ला निर्वाचन अधिकारी जोशीले बताउनु भयो ।

जिल्ला निर्वाचन कार्यालय सप्तरीले सकेसम्म खसेको मत बदर हुन नदिन नमूना मतदानको महत्व हुने भएकाले यस्तो कार्य गरेको जनाएको छ । जिल्ला निर्वाचन कार्यालयका अनु्सार चुनाव सुरक्षित, भयरहित, शान्तिपूर्ण र स्वतन्त्र रूपमा सम्पन्न गर्न सहयोग पुर्‍याउने उद्देश्यले नमूना मतदानको अभ्यास गराइएको हो ।

बदर मत कम गर्न र मतदाता शिक्षा प्रभावकारी बनाउन कात्तिक ३० गते नै छिन्नमस्ता गाउँपालिकामा समेत नमूना मतदान अभ्यास गरिएको छ ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार कात्तिक २९ गते डाक्नेश्वरी नगरपालिका, बोदे बरसाइन नगरपालिका, सुरुङ्गा नगरपालिका, वलान–विहुल गाउँपालिका र विष्णुपुर गाउँपालिकामा नमुना मतदान भएको छ ।

यसैगरी कात्तिक २८ गते खडक नगरपालिका, शम्भुनाथ नगरपालिका, तिलाठी कोइलाडी गाउँपालिका, राजगढ गाउँपालिका र रूपनी गाउँपालिकामा नमुना मतदान अभ्यास भएको छ ।

कञ्चनरूप नगरपालिका, सप्तकोशी नगरपालिका, हनुमाननगर कङ्कालिनी नगरपालिका, खडक नगरपालिका, तिरहुत गाउँपालिका र महादेवा गाउँपालिकामा कात्तिक २७ गते नमुना मतदान कार्यक्रम सम्पन भएको छ ।

जिल्ला निर्वाचन कार्यालयले कात्तिक २३ देखि २६ गतेसम्म चार ओटै निर्वाचन क्षेत्रका मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई प्रशिक्षण समेत सम्पन्न गरेको छ । प्रशिक्षण पश्चात नमूना मतदान अभ्यास गराइएको हो ।

नमूना मतदानमा महिला, पुरुष, अशक्त र वृद्धवृद्धाको लाइन मिलाउने, मतदाता परिचयपत्र रुजु गर्ने, मतदान अधिकृतको हस्ताक्षर रुजु गर्ने र गोप्य स्थानमा पुगी उम्मेदवारलाई मत दिन सिकाइएको थियो ।

photo20221117saptari (1)

photo20221117saptari (1)

photo20221117saptari (2)

photo20221117saptari (2)

photo20221117saptari (3)

photo20221117saptari (3)

photo20221117saptari (4)

photo20221117saptari (5)

photo20221117saptari (6)


मनोहरकुमार पोखरेल