जिल्लाका दुई मतदानस्थल अति संवेदनशील, नौ ओटा संवेदनशील

स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा जिल्ला सुरक्षा समितले जिल्लाका दुई मतदान स्थललाई अति संवेदनशील मतदान स्थालको रूपमा सूचीकृत गरेको छ ।

सितगङ्गा नपा ८ (साविकको जलुके गाविस) को चापँदीप मतदान केन्द्र र पाणिनी गाउँपालिका-५ (साविकको मैदान गाविस) को भर्तपुर मतदान केन्द्रलाइ अति संवेदनशील मानिएको छ । त्यसैगरी अन्य नौ ओटा मतदानस्थल संवेदनशील र बाँकीलाई सामान्य मानिएको जिल्ला प्रसाशन कार्यालयले जनाएको छ ।

भौगोलिक विकटता, सुरक्षा अवस्था, सडकको पहुँच, र यातायातको अवस्था, र तराईसँग जोडिएका भूभाग विगतका नर्वाचन, आदिका आधारमा मतदानस्थालाई तीन प्रकारले वर्गिकरण गरिएको प्रमुख जिल्ला अधिकारी डिल्लीराज पोख्रेलले जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी पोख्रेलले भने-'मतदान केन्द्रको वर्गिकरणको आधारमा सुरक्षाको व्यावस्था मिलाइएको छ । सुरक्षा व्यावस्था राम्रो बनाइएको छ । अझै प्रभावकारी बनाउने तयारीमा छौँ । निर्वाचनमा खटिने कर्मचारीदेखि स्थानीय स्तरको शान्ति सुरक्षा प्रदान गर्न सुरक्षा निकाय तयार छ ।'

जिल्लामा १ सय ६६ मतदान केन्द्र र ९३ मतदान स्थल रहेका छन् । १ लाख २६ हजार ६ सय ९९ जना मतदाता मतदान गर्ने प्रक्रियामा सहभागी हुँदैछन् ।


नारायण भुसाल