जीर्ण भवनबाट स्वास्थ्य सेवा प्रवाह

  ०७६ फागुन १४ गते

मन्थली नगरपालिका–८ चिसापानीमा रहेको स्वास्थ्य चौकीले भूकम्पको कारण जीर्ण भएको भवनबाट नै स्वास्थ्य सेवा प्रवाह गरि रहेको छ । जिर्ण भवनबाट स्वास्थ्य सेवा प्रवाह हुँदा सर्वसाधारणको जीवन जोखिममा रहेको स्वास्थ्य चौकीका अहेव सौगात माझीले बताउनु भयो ।

अहेव माझीका अनुसार २०७२ सालमा आएको भूकम्पको कारण स्वास्थ्य चौकीको भवन माथिदेखि जगसम्म चिराचिरा परेको छ । भवन जीर्ण भएर माथिल्लो तलामा जान सक्ने अवस्था छैन । सो भवनको भुइँतलामा अहिले विरामीको जाँच,ड्रेसिङलगायतको काम भई रहेको छ । भुकम्पपछि बनेको एक कोठे भवनमा प्रशासनिक काम गर्ने भएकोले भवन अभावको कारण भत्किएको जीर्ण भवनमा विरामीको उपचार गर्नु परेको माझीले बताउनु भयो । Photo20200226Ramechhap

भवन अभावको कारण उपचार गराउन जाने सर्वसाधारणलाई समस्या भएको स्थानीय गोपाल श्रेष्ठले बताउनु भयो । अर्काे ठाउँमा नयाँ स्वास्थ्य चौकी भवन बनाउने कुरा चलेको भए पनि जग्गाको समस्याको कारण भवन बनाउन समस्या रहेको मन्थली नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख केशव फुयाँलले बताउनु भयो । मन्थली नगरपालिका प्रमुख रमेश कुमार बस्नेतले नयाँ ठाउँमा स्वास्थ्य चौकी भवन बनाउन जग्गाको खोजि भइरहेको बताउनु भयो । यो स्वास्थ्य चौकीमा दैनिक १५ देखि २० जनाले स्वास्थ्य जाँच गराउने गरेको अहेव माझीले बताउनु भयो । यो स्वास्थ्य चौकीबाट यसक्षत्रका चारहजार जनसङ्ख्या लाभान्वित हुने उहाँले बताउनु भयो ।


नबराज पथिक