जान्ने बुझ्नेका लागि मात्रै मजदुर दिवस !

मे १ तारिख अर्थात् वैशाख १८ गते अन्तर्राष्ट्रिय मजदुर दिवस । आजको दिनलाई नेपाल सरकारले सार्वजनिक विदासमेत घोषणा गरेको छ । कार्यालय र शैक्षिक संस्था बन्द भएकै कारण पनि पाल्पा सदरमुकाम तानसेन सुनसान जस्तै थियो । जसको नाममा यो दिवस रहेको छ उसलाई नै यो दिवसले छोएन । विगत १५ वर्षदेखि तानसेनमा ज्याला मजदुरी गर्दै आएका रैनादेवी छहरा गाउँपालिका सिद्धेश्वरका ४६ वर्षीय ओस्तबहादुर कुमाललाई भने यो दिवसबारे थाहा छैन । बिहान सबेरै नाम्लो हातमा लिएर कामको खोजीमा निस्केका ओस्तबहादुरले विदाको दिन भएकै कारण काम पाएनन् । "आज बजारमा मान्छेहरूको त्यति चहलपहल छैन त्यसैले अहिलेसम्म केही पनि काम पाएको छैन ।"- बिहान १० बजेको समयमा इन्सेक प्रतिनिधिसँगको कुराकानीमा उनले भने ।

१ सय २८ औँ अन्तर्राष्ट्रिय मजदुर दिवसका अवसरमा देशभर विभिन्न कार्यक्रमहरू भएका छन् । पाल्पामा पनि विभिन्न राजनीतिक दलसम्बद्ध मजदुर सङ्गठनहरूले विविध कार्यक्रमहरू आयोजना गरे । तर, ती कार्यक्रमले 'खास मजदुर'लाई भने छोएन । अर्थात् आफूहरूको दिवसबारे वास्तविक मजदुरले सुँइकोसम्म पाउन सकेनन् । तानसेनमै २५ वर्षदेखि भारी बोकेरै पाँच जनाको गुजारा चलाउँदै आएका पूर्वखोला गाउँपालिका-३ जल्पाका ५३ वर्षीय कुलबहादुर लाम्काहालाई पनि दिवसले छोएन । "महिनामा १६ सय कोठाभाडा तिर्नुपर्छ । खानुपर्‍यो । लाउनुपर्‍यो । बिहान कमायो साँझ ठिक्क हुने हाम्रो परिवारमा एक दिन काम नपाउँदा पनि अब साँझ के खाने भन्ने हुन्छ ।"-उनले भने ।

आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जनका लागि युरोप र अमेरिकाका मजदुरहरूले गरेको सङ्घर्षको सम्झनामा प्रत्येक वर्षमे १ तारिखमा अन्तर्राष्ट्रिय मजदुर दिवस मनाउने गरिन्छ । १७ औँ शताब्दीमा भएको सङ्घर्षले मजदुरहरूले यो अधिकार प्राप्त गरेका थिए । सन् १८९० देखि हरेक वर्षमे १ मा संसारभर मजदुर दिवस मनाउने गरिएको हो । नेपालमा सन् १९६३ देखि अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै आइएको छ । तर, यस दिनलाई वि.सं २०६४ बाट मात्र आधिकारिक विदाको रूपमा घोषणा गरिएको हो ।

नेपालको सन्दर्भमा वि.सं. २००३ सालमा मोरङको विराटनगर जुट मिलका मजदुरहरूकै अगुवाइ र आन्दोलनबाट नेपालमा प्रजातान्त्रिक आन्दोलन अगाडि बढेको थियो । मजदुरकै तहबाट देशमा प्रजातान्त्रिक आन्दोलनको जग स्थापना भएको थियो । दलैपिच्छे मजदुर सङ्गठन खुल्ने र निकटका व्यक्तिहरूलाई मात्रै सहभागी गराएर औपचारिक कार्यक्रमहरू गरिँदा मजदुर दिवसको मर्म ओझेलमा परेको छ । दिउँसो मजदुर दिवस मनाएर बेलुका घर पुगेको मजदुर र उसको परिवार भोकै सुत्नु पर्ने विडम्बना छ । खासगरी शारीरिक श्रम गर्ने मजदुरहरूले अहिले पनि उचित ज्याला पाउन सकेका छैनन् । उनीहरूको समाजिक सुरक्षाको सुनिश्चितता छैन । कार्यक्षेत्रमा हुने दुर्घटनामासमेत औषधि उपचार नपाई मृत्युवरण गर्नुपरेको दर्जनौँ उदाहरण छन् ।

बगनासकाली-१ चिर्तुङ्धाराकी २७ वर्षीया रेवन्ती कुमाल पनि झिसमिसेमै काम खोज्दै सदरमुकाम तानसेन आइपुगिन् । एक घण्टा पैदल हिँडेर सदरमुकाम तानसेन आइपुगेकी उनलाई मजदुर दिवस के का लागि ? र, यसमा के हुन्छ ? भन्नेसम्म पनि थाहा छैन । "हामी काम गरेर खानेहरूलाई दिवस मनाएर के फाइदा ? दिनभरि भारी बोकेर साँझ छाक टार्ने हामीहरू काम गर्न हिड्नैपर्‍यो ।- रेवन्तीले भनिन् । जिल्ला सदरमुकामममा मात्रै २ सयभन्दा बढी व्यक्तिहरू यसरी अर्काको भारी बोकेर गुजारा चलाउने छन् । यहाँ भारी बोक्नकै लागि चिर्तुङ्धाराको घोरबन्दा गाउँबाट मात्रै ६० जना बढी महिला पुरूषहरू दैनिक आउने गर्दछन् र उनीहरूको गुजारा चलाउने विकल्प नै भारी बोक्नु हो ।


यज्ञमूर्ति तिमिल्सिना