जानकारी नहुँदा बैंक खाता छोरीको कार्यक्रममा लाभग्राहीको पहुँच अझै पुग्न सकेन
सुर्खेत लेकवेशी नगरपालिका–४ कागतेस्थित रितु सुनारको कोखबाट गत वर्षको पुस पहिलो साता छोरीको जन्म भयो । उहाँले छोरीको जीवन बीमा निजी बीमा कम्पनीबाट गरेपनि अन्य कुनै सरकारी कार्यक्रममा आबद्ध नभएको बताउनुहुन्छ ।
‘छोरी जन्मेसकेपछि बीमा बाहेक अरु केही गरेको छैन ।’–उहाँले भन्नुभयो–‘बैङ्कमा खाता खोलेर सरकारले पैसा बचत गर्ने कुरा त कसैले भनेको भए पो थाहा हुनु ? कसैले भनेका छैनने । अहिले तपाईले भनेर बल्ल थाहा भयो ।’
भेरीगङ्गा नगरपालिका–१३ साँधिखोलास्थित २३ घरपरिवार रहेको दलित समुदाय छ । उक्त समुदायको अवस्था पनि लेकवेशीस्थित रितुको जस्तै छ । साँधिखोलाका लालवीर दमाईलाई पनि प्रदेश सरकारले सञ्चालनमा ल्याएको बैङ्क खाता छोरीको, सुरक्षा जीवनभरीको कार्यक्रम बारे जानकारी नै छैन । उनीसँग साढे दुई वर्षीया र एक वर्षीया छोरी छन् । तर, कार्यक्रम थाहा नपाएरै उहाँ यो सुविधाबाट वञ्चित हुनुपर्यो ।
‘यति राम्रो कार्यक्रम रहेछ, थाहै हुँदैन ।’–उहाँले भन्नु भयो–‘हामीजस्ता सोझासिधाले कसरी थाहा पाउनु ? भोट माग्ने बेलामा नेताहरू दैलादैलामा आउँछन् । जनतालाई फाइदा हुने कुरा लिएर कोही आउँदैनन् !’
गर्भमै छोरा÷छोरी पहिचान गर्ने र छोरी भए भ्रुण हत्या गर्ने प्रचलन बढेकाले यसको नियन्त्रण गरी छोरीको भविष्य सुरक्षित गर्न प्रदेश सरकारले ‘बैङ्क खाता छोरीको, सुरक्षा जीवनभरीको’ कार्यक्रम अघि सारेको भएपनि लाभग्राही वञ्चित भइरहेका छन् ।
छोरीको भविष्य सुरक्षित बनाउन कार्यान्वयनको चरणमा रहेको ‘बैङ्क खाता छोरीको, सुरक्षा जीवनभरीको’ कार्यक्रममा सर्वसाधारण नागरिकको पहुँच अझै पुग्न सकेको छैन । त्यत्तिमात्रै नभएर उमेर नपुग्दै विवाह गर्ने युवा, युवतीहरूको लहरलाई समेत रोक्न सहयोग पुग्ने विश्वास सहित प्रदेशका १० ओटै जिल्लामा लागू गरिएको छ ।
भौगोलिक रूपमा विकट कर्णालीको ग्रामीण भेगसम्म स्थानीय नागरिकले थाहा नपाउँदा कार्यक्रम प्रभावकारी हुन नसकेको हो । प्रदेश सरकारले ०७६ साउनदेखि प्रदेशको १० ओटै जिल्लामा लागू गरेको कार्यक्रमका बारेमा सर्वसाधारण नागरिकलाई अझै जानकारी नभएको पाइएको हो ।
सामाजिक विकास मन्त्रालयमार्फत लागु गरिएको कार्यक्रममा आबद्ध हुने छोरीहरूको सङ्ख्या निकै कम छ । कार्यक्रम लागू भएयता कर्णालीमा १२ हजार ५ सय २७ छोरीहरूको बचत खाता खोलिएको मन्त्रालयका अधिकृत अनिता ज्ञवालीले जानकारी दिनु भयो ।
आर्थिक वर्ष २०७६/०७७ मा ४ हजार ७ सय जनाभन्दा बढीको बैङ्क खाता खोलिएको छ भने आर्थिक वर्ष २०७७/०७८ मा ६ हजार ८ सय जनाभन्दा बढीको खाता खोलिएको छ ।
यो आर्थिक वर्षमा पनि कार्यक्रममा आबद्ध हुने क्रम भइरहेको मन्त्रालयले जनाएको छ । कार्यक्रम प्रतिको आकर्षण बढ्दै गएको अधिकृत ज्ञवालीको भनाइ छ ।
मन्त्रालयका अनुसार हालसम्म छोरीका नाममा खोलिएको बैङ्क खातामा ७ करोड ४३ लाख ८ हजार रुपियाँ बचत रकम जम्मा गरिएको छ ।
छोरी जन्मेको ४५ दिनभित्र बैङ्क खाताका लागि स्थानीय तहमा निवेदन दिनुपर्छ । त्यसपश्चात स्थानीय तहको सिफारिसका आधारमा छोरीहरूको बैङ्क खाता खोल्ने र २० वर्षसम्म सरकारले मासिक ५ सय रुपियाँका दरले रकम जम्मा गरिदिने कार्यविधिमा उल्लेख छ । यद्यपी २० वर्ष अगावै विवाह गरे यो रकम लाभग्राहीले पाउँदैनन् ।
स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीहरू भने अभिभावकहरूले प्रक्रिया झञ्झटिलो र समय सिमाभित्र नआइपुग्दा समस्या हुने गरेको बताउँछन् । प्रक्रिया पुर्याएर ४५ दिनभित्र आउने छोरीहरूको बैङ्क खाता खोलेर रकम बचत गरिएको लेकवेशी नपा–४ का वडाध्यक्ष खगेन्द्र रूचालले बताउनु भयो ।
‘सरकारले दिने सेवा सुविधाबाट सकेसम्म जनता (लक्षित वर्ग) वञ्चित नहोउन् भन्ने हाम्रो पनि चाहाना हुन्छ ।’–उहाँले भन्नु भयो–‘अभिभावक नै समय भित्र नआइदिने, कागजात नपुर्याउने, प्रक्रिया झञ्झटिलो मान्नुहुन्छ । कतिपयको हामीले जबरजस्ती खाता पनि खोलिदिएका छौँ । सकेसम्म हामीले सुविधाबाट नछुटुन् भनेर अधिकतम प्रयास गर्दै आएका छौँ ।’
सरकारले प्रचारप्रसारमा जोड दिनुपर्ने र जनप्रनितिधिसहित कर्मचारीहरूले सर्वसाधारण नागरिकलाई सूचना प्रवाह गरे कार्यक्रम आफैँमा प्रभावकारी हुने नागरिक समाजको बुझाइ छ । ‘कार्यक्रम असाध्यै राम्रो छ । तर, जुन समुदायका लागि कार्यक्रम ल्याइएको हो । उसैलाई थाहा छैन ।’–नागरिक समाजका अगुवा पिताम्बर ढकाल भन्नुहुन्छ–‘सरकारले सञ्चारमाध्यमबाट प्रचारप्रसार गर्नुपर्यो । जनप्रतिनिधि र कर्मचारीहरूले पनि सेवा लिन आएका नागरिक सबैलाई कार्यक्रमबारे जानकारी दिने हो भने लक्षित वर्गसम्म पुग्न सक्ला ।’
पूर्णबहादुर खड्का
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार १७ गते)
असार १७ गते ३५ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार ७ सय २९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले ४१ वर्षीय आफन्तलाई असार १५ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले असार १ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडितले आफन्तको सहयोगमा…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको घटनाका आरोपित कुशे गाउँपालिका–५ दमदालाका २८ वर्षीय मायाराम नेपालीलाई प्रहरीले असार १६ गते गिरफ्तार गरेको छ । बालिका कोठामा एक्लै सुतेको अवस्थामा असार १३ गते…
प्रदेश सरकार र वादी समुदायबिचको सहमति कार्यान्वयनका लागि पाँच सदस्यीय कार्यदल गठन
गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य लगायतका माग राख्दै करिव डेढ वर्ष अघि कर्णाली प्रदेशको मुख्यमन्त्री कार्यालय अगाडि १८ दिनसम्म लगातार धर्ना दिएका वादी समुदाय र प्रदेश सरकारबीच भएको सहमति कार्यान्वयका…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बसबरीया गाउँपालिका–६ सोहरवाका २३ वर्षीय भिखारी राय यादवलाई असार १५ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले जेठ १४ गते बलात्कार गरेको…