जातीय विभेद घटनाका आरोपित गिरफ्तार

ब्रतबन्धको भोजमा बोलाएर नारायण परियारलाई जातीय विभेद गरेको आरोपमा प्रहरीले चैत १८ गते सुजन लामिछाने र सन्तोष परियारलाई गिरफ्तार गरेको छ ।

आरोपितमध्ये रामजी लामिछाने र सरिता लामिछानेलाई गिरफ्तार गर्न खोजी गरिरहेको प्रहरीले जनाएको छ ।

माछापुच्छ्रे गाउँपालिका–५ रिभानमा फागुन २५ गते ब्रतबन्धको भोजमा जातीय विभेद भएको भन्दै नारायण परियारले चैत ६ गते जिल्ला प्रहरी कार्यालयमा वडा सदस्य रामजी लामिछाने, सुजन लामिछाने, सरिता लामिछाने र सन्तोष परियारविरूद्ध उजुरी दिनुभएको थियो ।

यसैबिच मानव अधिकारको क्षेत्रमा काम गर्ने कास्कीमा क्रियाशील विभिन्न सङ्घ संस्थाहरूले माछापुच्छे«–५ रिभानमा भएको जातीय विभेदको घटनाको भत्र्सना गरेका छन् । उनीहरूले चैत १८ गते प्रेस विज्ञप्ति जारी गर्दै दोषीलाई कारबाहीको माग गरेका छन् ।

मुक्ति समाज कास्कीका अध्यक्ष बलराम लामगादे, नेपाल दलित सङ्घ कास्कीका कार्यवहाक अध्यक्ष प्रेम परियार, नेपाल दलित मुक्ति मोर्चाका अध्यक्ष भिमबहादुर नेपाली, नेपाल दलित मुक्ति सङ्गठनका अध्यक्ष लालबहादुुर घताने, दलित महिला सङ्घ (फेडो) कास्कीका कार्यक्रम संयोजक इश्वरी बिक, शान्तिका लागि नागरिक समाज पोखराका अध्यक्ष विना सिलवाल, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकीका संयोजक शिव खकुरेल, महिला मानव अधिकार रक्षक सञ्जाल कास्कीका अध्यक्ष केशु भुजेल, गैरसरकारी संस्था महासङ्घ गण्डकीका कार्यबाहक अध्यक्ष पदमराज पहारी, विश्वकर्मा समाजका गणेश बराइली, परियार समाजका किसान परियारले विज्ञप्ति जारी गर्दै न्याय प्राप्तिका लागि ध्यान दिन सम्बन्धित पक्षलाई आग्रह गर्नुभएको हो ।

दलितले भान्सा छोएको भन्दै वडा सदस्य रामजी लामिछानेले भान्सामा भएको सबै खानेकुरा फालेको र सन्तोष परियारले भान्सा छोएपछि १ लाख ५० हजारको खाना फाल्नुपरेको भन्दै नारायण परियारलाई फोनमा धम्क्याएको पीडित पक्षको आरोप छ ।


नारायण केसी