जातीय विभेद घटनाका आरोपित गिरफ्तार

  ०७८ साउन १९ गते

जातीय विभेद घटनाका फरार आरोपित सिंजा गाउँपालिका ६ जुम्लाका ३० वर्षीय नविन बुढालाई प्रहरीले साउन १८ गते घरबाटै गिरफ्तार गरेको छ ।

सिंजा गाउँपालिका ६ का वडाध्यक्ष ५५ वर्षीय काली बहादुर बुढा र उनका छोरा नविन बुढाले सोही गाउँका विवेन्द्र नेपालीमाथि वडा कार्यालयमै जातीय विभेद गरेको भन्दै पीडितले असार २५ गते जिल्ला प्रहरी कार्यालय जुम्लामा उजुरी दिएका थिए ।

उजुरीपछि पक्राउ पुर्जी जारी भएको तीन हप्तापछि एकजना आरोपितलाई गिरफ्तार गरिएको अर्का आरोपित अझै फरार रहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी युवनकुमार चौधरीले बताउनुभयो ।

प्रहरीले जातीय विभेदको उजुरी दर्ता गर्न नमानेपछि दलित अधिकारकर्मी र सञ्चारमाध्यमको दबाबले उजुरी दर्ता गरेको पीडित नेपालीले इन्सेक प्रतिनिधिलाई बताउनुभयो ।

वडाध्यक्षले असार ६ गते फोन गरेर ‘तँ साले कुकुर, तेरो बाउले हालेको हो योजना ? मेरो विषयमा टिप्पणी गर्ने तँ को होस’ भनेर विभेदपूर्ण व्यवहार गरेको पीडितको भनाइ छ ।

असार ८ गते वडाध्यक्षले कार्यकक्षमा बोलाएर ‘जे गर्छस् गर । तँलाई डुम नभनी के राजा भनु ?’ भनेर दुईपटक गालामा हानेर गर्धनमा निमोठेको पीडितको आरोप छ ।


मानदत्त रावल