जातीय विभेद कायमै रहेको दलित अगुवाहरुको गुनासो

  २०८१ जेठ २२

जिल्लास्थित मठ–मन्दिर र सर्वाजनिक स्थलमा अझै पनि जातीय विभेद कायमै रहेको दलित अगुवाहरुले गुनासो गर्नुभएको छ । १८ औँ जातीय भेदभाव तथा छुवाछूत उन्मूलन दिवसको अवसरमा ०८१ जेठ २१ गते गोठालापानीमा आयोजित कार्यक्रममा उपस्थित दलित अगुवाहरुले उक्त गुनासो गर्नुभएको हो ।

मन्दिरमा छोइछिटोका साथै दलित समुदायका व्यक्तिलाई अपमानित शब्दले सम्बोधन गर्ने गरिएको दशरथचन्द नगरपालिका कार्यपालिका सदस्य प्रेमराम दयालले बताउनु भयो ।

उहाँले भन्नु भयो– ‘मन्दिरमा अझै पनि छिटो हाल्छन् ।  धामी काम्ने बेला समेत दलित समुदायका व्यक्तिहरुलाई अपमानित शब्द प्रयोग गर्ने गरिएको छ । ’

दलित समुदायमाथि गरिने विभेद कायम रहेको तर विभेदको स्वरुप भने परिवर्तन भएको कार्यक्रमका सहभागी दलित समुदायका व्यक्तिहरुले गुनासो गर्नुभएको छ । अन्तरजातीय विवाह हुँदा दलित समुदायका युवाहरुलाई बलात्कारको मुद्दा दर्ता गरेर दुःख दिने गरिएकोे दलित अधिकारकर्मी नरेश विकले गुनासो गर्नु भयो ।

प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले मन्दिरमा हुने विभेदका सम्बन्धमा पहिला पनि गुनासोहरु आउने गरेकोले मन्दिरहरुमा जातीय विभेदलाई प्रश्रय दिने किसिमका व्यवहार तथा शब्दको प्रयोग नगर्न र जातीय विभेद गर्ने गराउनेलाई कारबाहीका लागि सबै स्थानीय तहमा पत्राचार गरिएको बताउनु भयो ।

नेपालको संविधानको मौलिक हक अन्तर्गत धारा २४ मा छुवाछूत तथा भेदभाव विरुद्धको हकको व्यवस्था गरिएको छ भने जातीय विभेदलाई दण्डनीय अपराधको रुपमा व्यवस्था गरिएको छ ।

जातीय तथा अन्य छुवाछूत र भेदभाव ( कसूर र सजाय) ऐन २०६८ को दफा ७ मा जातीय विभेद तथा छुवाछूत गरेको कसूर ठहर भएमा कैद र जरिवानाको व्यवस्था गरिएको छ भने सार्वजनिक पद धारण गरेको व्यक्तिले विभेद गरेमा थप ५० प्रतिशित सजाय हुने व्यवस्था छ ।


नरी बडु