जातीय विभेद कायमै, दलित समुदायका स्वास्थ्यकर्मीलाई कोठा भाडामा पाउनै सास्ती

  ०८० फागुन ४ गते

जातीय छुवाछूत तथा भेदभाव कानुनी रुपमा दण्डनीय र सामाजिक रुपमा अन्ययपूर्ण भए पनि जिल्लाका ग्रामिण क्षेत्रमा जातीय विभेद तथा छुवाछूत हट्न सकेको छैन् ।

जातका आधारमा गरिने विभेद तथा छुवाछूत कायमै रहेका कारण अहिले पनि जिल्लाका ग्रामिणबस्तीहरुमा दलित समुदायका स्वास्थ्यकर्मीहरुले कोठा भाडामा पाउन सास्ती खेप्नु परेको छ ।

खप्तडछेडेदह गाउँपालिका–४ की मोतीकलाकुमारी सार्की सोही गाउँपालिका वडा नम्बर ७ स्थित गुम्लागाउँ वर्थिङ सेन्टरमा कार्यरत अनमी हुन् ।  आफू कार्यरत वर्थिङ् सेन्टर नजिकै  भाडामा कोठा नपाएपछि उहाँ दुई घण्टा हिँडेर घरबाटै वर्थिङ सेन्टर आउजाउ गर्न बाध्य हुनु हुन्छ । आटीचौर स्वास्थ्य चौकी अन्तर्गतको यो वर्थिङ सेन्टरमा उहाँले विगत तीन वर्षदेखि काम गर्दै आउनुभएको छ ।

मोतिकला सार्कीको घरबाट गुम्लागाउँ वर्थिङ सेन्टर पुग्न दुई घण्टा बढी समय लाग्छ । दैनिक घरबाटै आउजाउ गर्न टाँढा भएपछि उहाँले वर्थिङ सेन्टर भएकै गुम्लागाउँमा कोठा लिएर बस्न खोज्नु भयो तर दलित भएको भन्दै उहाँलाई गाउँमा कोठा दिन कोही गाउँले तयार भएनन् ।

दलित भएको भन्दै आफूलाई गाउँलेहरुले कोठा भाडामा दिन नमानेपछि आफू गर्भवती भएको समयमा पनि घरबाटै  आउजाउ गर्न बाध्य भएको स्वास्थ्यकर्मी मोतीकलाले इन्सेक प्रतिनिधिसँग फोन सम्पर्कमा बताउनु भयो ।

उहाँले भन्नु भयो– ‘ गुम्लागाउँमा गैरदलितको बसोबास रहेको छ । वर्थिङ सेन्टर पनि सानो छ । बच्चा पाउने समयको केही महिना त वर्थिङ सेन्टरमा सुत्केरी गराउने ठाउँमै बस्न बाध्य भए । वर्थिङ सेन्टरको सानो कोठामा  खाना पकाउने र सुत्ने गरेकी थिए । स्थानीयहरुलाई भुईतलामा भए पनि बस्न दिनु भनेर कति अनुरोध गरे तर कसैले स्विकार गरेनन् ।’

गाउँमा केही व्यक्ति कोठा दिन तयार भए पनि अरु गाउँलेले दलितलाई कोठा दिनु हुन्न भनेर रोकेको मोतीकलाको भनाइ छ । कोठा नपाउँदा आउजाउमा समस्या भएको गुनासो वडाध्यक्ष खगेन्द्र रावत समक्ष राखेपछि वडाध्यक्षले कोठा खोज्न समन्वय गरी दिनुभएको भए पनि गाउँलेले कोठा दिन नमानेको स्वास्थ्यकर्मी सार्कीले बताउनु भयो ।

वडाध्यक्ष रावतले आफ्नो गाउँमा विभेद नरहेको दाबी गरे पनि मोतीकलालाई गाउँलेले कोठा दिन नमानेको विषयमा कुनै प्रतिक्रिया दिनु भएन् ।

आटीचौर स्वास्थ्य चौकीका इन्चार्ज रमेश ओलीले पनि मोतीकलाले गाउँमा कोठा पाउन नसकेको बताउनु भयो । ठाउँ अभावका कारण मोतीकलालाई स्वास्थ्य संस्थामै बस्ने व्यवस्था गर्न पनि कडिनाइ भएको उहाँको भनाइ छ ।

खप्तड छेडेदह गाउँपालिकास्थित डोगडी स्वास्थ्य चौकीमा कार्यरत सिनियर अनमी दिपमाला सिलवालले पनि आफू दलित समुदायको भएका कारण काम गर्ने सिलसिलामा विभेद भोग्नु परेको बताउनु भयो । गाउँमा गर्भवतीको स्वास्थ्य जाँच गर्न जाँदा जात लुकाए मात्र बास बस्न पाउने उहाँ बताउनु हुन्छ । खप्तड छेडेदह गाउँपालिका–१ काँडागाउँमा जाँदा खान र बस्न समस्या भएपछि जात ढाँट्न बाध्य भएको उहाँले बताउनु भयो ।

उहाँले भन्नु भयो– ‘दलित हुँ भनेपछि गाउँमा बाँस बस्न समस्या हुन्छ । बाध्य भएर जात लुकाउने गरेकी छु । अहिले पनि जातीय विभेदका कारण समस्या भोग्नु परेको छ ।’

नेपालको संविधानको मौलिक हक अन्तर्गत धारा २४ मा कुनै पनि व्यक्तिलाई उसको उत्पत्ति, जातजाति, समुदाय, पेशा, व्यवसाय, शारीरिक अवस्था आदिको आधारमा नीजि र सार्वजनिक स्थानमा छुवाछूत वा भेदभाव गर्न नपाइने व्यवस्था गरिएको छ ।

जातीय तथा अन्य समाजिक छुवाछूत तथा भेदभाव कसूर र सजाय ऐन २०६८ मा जातीय भेदभाव तथा छुवाछुत गर्नेलाई तीन महिनादेखि तीन वर्षसम्म कैद वा १ हजारदेखि २५ हजार रुपियाँसम्म जरिवाना वा दुबै सजाय हुने व्यवस्था छ ।

कानुनी रुपमा दण्डनीय मानिएको जातीय छुवाछुत कायमै रहदा नागरिकलाई सेवा दिन घरघर हिँड्नु पर्ने स्वास्थ्यकर्मी नै छुवाछूतबाट पीडित हुनुपरेको छ । जिल्लामा जातीय विभेद र छुवाछूतका घटना कानुनको दायरामा आउन सकेका छैनन् । कतिपय अवस्थामा जातीय विभेदका घटना सार्वजनिक नै हुँदैनन् । अधिकांश जातीय विभेदका घटनाहरुमा गाउँमै मिलेमतो हुने गरेको छ ।


पदमबहादुर सिंह