जातीय विभेदका कारण काजकिरिया गर्नबाट वञ्चित गराइएको आरोप

नेपालको संविधान २०७२ को भाग–३ मौलिक हक र कर्तव्य अन्तर्गत धारा २४ मा छुवाछूत तथा भेदभावविरूद्धको हक उल्लेख छ । उपधारा १ मा कुनै पनि व्यक्तिलाई निजको उत्पत्ति,जात,जाति,समुदाय,पेशा,व्यवसाय वा शारिरीक अवस्थाको आधारमा कुनै पनि निजी तथा सार्वजनिक स्थानमा कुनै प्रकारको छुवाछूत वा भेदभाव गरिने छैन भनि उल्लेख गरिएको छ ।

तर,सिदिङ्मा गाउँपालिका–४ साब्लाखुका ३४ वर्षीय राजिन्द्र बुढाक्षेत्री र ३६ वर्षीया पत्नी फुलमाया विश्वकर्मा बुढाक्षेत्री जातीय विभेदका कारण बाबुको अन्तिम संस्कारमा सहभागी हुनबाट वञ्चित हुनु परेको छ । ७८ वर्षीय बाबु तथा ससुराको साउन १८ गते मृत्यु भएपछि आफूहरूलाई मृत्यु संस्कार र अन्त्येष्टीको कार्यमा परिवारका सदस्यबाट सहभागी वञ्चित गराइएको राजिन्द्र बुढाक्षेत्रीले बताउनु भयो ।

विश्वकर्माको छोरी विवाह गरेको भन्दै बाबुको अन्तिम संस्कारमा जातीय हिसाबले व्यवहार गरी सहभागी हुन नदिएको आरोपमा पीडित राजिन्द्रले चार जना विरूद्ध भदौ १० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनु भएको छ ।

जातीय भेदभाव तथा छुवाछुत गरेको आरोपमा राजिन्द्रले दाजुहरू ७२ वर्षीय रामबहादुर बुढाक्षेत्री,५१ वर्षीय बुद्धीप्रसाद बुढाथोकी, ५३ वर्षीय खड्क बुढाथोकी र सुनसरी इटहरी नगरपालिका–७ का ४६ वर्षीय प्रेम बुढाक्षेत्रीविरूद्ध जाहेरी दिएको डीएसपी मेहन्द्र श्रेष्ठले इन्सेक प्रतिनिधिसँगको भेटमा बताउनु भयो ।

राजिन्द्रकी भाउजु कमला बुढाक्षेत्रीले देवर र देवरानी मलामी र काजकिरियाका लागि घरमा नआएको बरू छुट्टै बसेर काजकिरिया गरेको बताउनु भयो । उहाँले देवरले २०६० सालमा दलितकी छोरी विवाह गरेपनि घरपरिवारले स्वीकार गरेको र कहिल्यै जातीय विभेद तथा व्यवहार नगरेको बताउनु भयो ।

संविधानले जातीय विभेद वर्जित भएको र मानव अधिकारका दृष्टिले जात र जातिका आधारमा कसैलाई थिचोमिचो गर्न नपाइने भन्दै पीडितले न्याय पाउनुपर्ने दलित अधिकार मञ्च ताप्लेजुङका अध्यक्ष छत्र विश्वकर्माले बताउनु भयो ।

सिदिङ्मा गाउँपालिका उपाध्यक्ष जीवन ताम्लिङले संस्कार अनुसार छोराबुहारीले काजकिरिया गर्न नपाएको बताउनु भयो । पीडितले गाउँपालिकामा जानकारी गराएलगत्तै प्रहरी÷प्रशासनमा जान सहजीकरण गरेको उपाध्यक्ष ताम्लिङको भनाइ छ ।


देवराज गुरुङ