जातीय विभेदका कारण आत्महत्या गरेको भन्दै उजुरी

  ०७८ साउन २६ गते

सुरुङ्गा नगरपालिका–७ पोखरियाकी २० वर्षीया ज्योती पासवानले गरेको आत्महत्या सोही ठाउँका २५ वर्षीय कन्हैया भनिने कृष्ण मिश्रले दुरुत्साहन गरेर भएको भन्दै पीडितका बुवा प्रमोद पासवानले साउन २६ गते इलाका प्रहरी कार्यालय कडरबोनामा उजुरी दिनुभएको छ ।

फागुन ९ गते प्रेम विवाह गरेर गएका आरोपितले जातीय भेदभावकै कारण घरपरिवारको दवाबमा परी सिरहाको लहानमा अलपत्र छाडेर सम्पर्कविहिन भएपछि डिप्रेसनमा परेर साउन २३ गते आत्महत्या गरेको भन्दै उजुरी दिएको पासवानले बताउनु भयो ।

शवको पोष्टमार्टम सिरहा लहानस्थित रामकुमार शारदा उमाप्रसाद मुरारका अस्पतालमा साउन २३ गते गरिएको छ ।

‘असार २ गते सिरहाको लहानस्थित पुष्पाञ्जली लजमा छाडेर बेपत्ता भएदेखि नै कृष्णले फोन सम्पर्क गरेका थिएनन ।’–पासवानले भन्नुभयो–‘जातीय विभेद र छुवाछुतकै कारण घरपरिवारको दबाब र योजनामा कृष्णले विवाहको चार महिनामै अलपत्र छाडेर सम्पर्कविहिन भएपछि ज्योती विस्तारै डिप्रेसनमा पर्दै गएकी थिइन् ।’

अन्तरजातीय प्रेमविवाह पश्चात कथित तल्लो जातकी बुहारीलाई अस्विकार गरेका कृष्णका परिवारले घरसम्पतिबाट बेदखल गरेपछि उनीहरू जेठ २९ गतेसम्म सिरहाको मिर्चैयामा सँगै बसेका थिए ।

जेठ ३० गते लहानस्थित लजमा छाडेर सम्पर्कविहिन भएपछि माइतीको सम्पर्कमा आएकी ज्योतीलाई इन्सेक प्रतिनिधिलगायतका अधिकारकर्मी र प्रहरीले लजबाट असार २ गते उद्धार गरी माइतीको जिम्मा लगाएको थियो ।

इलाका प्रहरी कार्यालय कडरबोनाका इन्स्पेक्टर वीरेन्द्र पासवानले आत्महत्या दुरुत्साहन देखिएको भन्दै घटनाबारे अनुसन्धान गरिरहेको बताउनु भयो ।

दोषीलाई हदैसम्मको कारबाही र पीडित परिवारलाई न्यायसहित क्षतिपूर्तिको व्यवस्था गर्न दलितसँग सम्बन्धित विभिन्न संस्थाले माग गरेको छ ।


मनोहरकुमार पोखरेल