जातीय छुवाछुत घटनाका आरोपितविरूद्ध उजुरी

  ०८० भदौ २० गते

नेत्रावती डबजोङ गाउँपालिका-४, थर्पुका २३ वर्षीय विकास परियार र २८ वर्षीय ध्रुब दमैलाई जातीय छुवाछुत तथा दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले थर्पुमा पसल सञ्चालन गर्ने कुण्डलादेबी माविका शिक्षक अम्मर श्रेष्ठ, उहाँकी पत्नि ३५ वर्षीया कोपिला श्रेष्ठ र पटक पटक जेल सजाय भोगेका २९ वर्षीय अनिल श्रेष्ठविरूद्ध जिल्ला प्रहरी कार्यालयमा ०८० भदौ १८ गते उजुरी दिएका छन् ।

लाखे जात्रा र गाई जात्राको अवसरमा भदौ १४ गते बाजा बजाउन र लाखे नाचका लागि सहभागी भएका विकास परियार र ध्रुब दमैलाई पानी छोएको र घरभित्र पस्न लागेको आरोपमा कुटपिट समेत गरिएको थियो । पीडितलाई आरोपितहरूले डुम भन्दै कुटपिट गरेकोले कारबाही गराउन सहयोगका लागि अधिकारकर्मीहरू समक्ष आएको पीडित विकास परियारले बताउनु भयो ।

लाखे जात्रामा थाकेपछि पानी पिउनको लागि ढोकामा पुगेर पानी माग्ने बित्तिकै आरोपितहरूले लछारपछार गर्दै दमै भएर भित्र आएको आरोपमा कुटपिट गरेको र आफू भागेर ज्यान जोगाएको पीडितले परियारले जानकारी दिनुभयो । के भएको भनेर सो ठाउँमा पुग्नुभएका ध्रुबलाई हालै रिहा भएका अनिल श्रेष्ठ लगायतले कुटपिट गरेर घाइते बनाएको पीडित परियारले बताउनु भयो ।

बिरामी परेका कारण दुई दिनसम्म घरमै सुतेका पीडितहरू न्याय पाइन्छ भन्ने थाहा पाएपछि उजुरीका लागि जिल्ला प्रहरी कार्यालयमा आएका थिए । पीडितहरूको स्वास्थ्य परीक्षण र उपचार भदौ १७ गते धादिङ अस्पतालमा भयो । जातीय छुवाछुतको उजुरी आएकोले अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी सन्तुलालप्रसाद जैसवारले जानकारी दिनुभयो ।


सीताराम अधिकारी