जाडोले डोल्पामा मतपेटिका सुरक्षामा सकस !

  ०७९ मङ्सिर ७ गते

मतदान भएको तिन दिन बितिसक्दा समेत भौगोलिक विकटताका कारण मतपेटिका समयमै मतगणनास्थलमा नआएपछि सुरक्षामा सकस देखिएको हो ।

मङ्सिर ४ गते प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचन सम्पन्न भएपनि चीनसँग सिमा जोडिएका उपल्लो डोल्पामा पर्ने शेफोक्सुण्डो गाउँपालिकाका–४ मा पर्ने मोती आधारभुत विद्यालय धुङदार वडा नम्बर २ मा पर्ने कराङ गाजो रिक्युङ आधारभुत विद्यालय कराङ र वडा नम्बर ३ मा पर्ने शेल्ड्री डुग्ड्रा आधारभुत विद्यालय गरेर तीन मतदान स्थल र तल्लो डोल्पामा पर्ने जगदुल्ला गाउँपालिकामा रहेका मतदान केन्द्रहरूका समेत गरेर ११ मतदान केन्द्रका मतपेटिकाहरू अझै सदरमुकाम आइपुगेका छैनन् ।

मतपेटिका ल्याउन ढिलाइ भएकाले मतगणनास्थल जिल्ला अदालतमा राखिएका मतपेटिकाहरूको सुरक्षामा अत्यधिक जाडोले गर्दा सकस भएको मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश बाबुराम सुवेदीले बताउनु भयो ।

उहाँले भन्नु भयो–‘राति बाहिर निक्लन पनि कठिन हुन्छ । तैपनि मतपेटिकाको सुरक्षामा खटिएका सुरक्षाकर्मीहरू सिरक ओढेर रातभर जाग्राम गरेर जाडोको परवाहा नगरी पहरा दिइरहँदा आफैँलाई कस्तोकस्तो लागिरहेको छ ।’

मङ्सिर ६ गतेबाट सबै स्थानका मतपेटिका सदरमुकाम ल्याएर साँझबाट मतगणना गर्ने तयारी गरिएपनि हवाई इन्धन सकिएकाले नेपाली सेनाको हेलिकप्टरले मङ्सिर ६ गते दुई पटक मात्र उडान गरेर सुर्खेत फर्केपछि मतगणना हुन सकेको छैन ।

६८ ओटा मतदान केन्द्र रहेको डोल्पामा अहिलेसम्म मुड्केचुला गाउँपालिका, ठूलीभेरी, त्रिपुरासुन्दरी नगरपालिका काइके गाउँपालिका छार्काताङसोङ र डोल्पोबुद्ध गाउँपालिकामा रहेका ५५ मतदान केन्द्रका मतपेटिका मात्र सदरमुकाम दुनै आइपुगेका छन् ।

मतगणना निष्पक्ष, स्वतन्त्र र पारदर्शी रुपमा होस भनेर निर्वाचन पर्यवेक्षणमा खटिएका पर्यवेक्षक र सञ्चारकर्मीहरूलाई समेत छुट्टै कक्षा निर्माण गरी सही सत्य समाचार सम्प्रेषणको व्यवस्था गरिएको पनि मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश बाबुराम सुवेदीले बताउनु भयो । २२ हजार ७ सय ७४ मतदाता रहेको डोल्पामा १७ हजारले मतदान गरेका छन् ।


विष्णुप्रसाद देवकोटा