जाजरकोट अस्पतालमा तीन सातादेखि औषधि अभाव

कर्णाली प्रदेश सरकारको मताहतमा रहेको जाजरकोट अस्पतालमा औषधि अभाव भएको छ । तीन सातादेखि अस्पतालमा औषधि अभाव भए पनि आपूर्ति नहुँदा समस्या भएको अस्पतालले जनाएको छ । इन्जेक्सन, सिफेकजन, एमपी, कोलकसा, पाराफ्लाम, डिएफओ जेल इनजेक्सन, घाउमा लगाउने मल्हम, जीवनजल, पेनटपलगायतका औषधि अभाव भएको हो । डाक्टरले लेखिदिएको पुर्जा लिएर अस्पतालको फार्मेसीमा गएका बिरामी रित्तै फर्कनुपरेको बिरामीले बताएका छन् ।

अस्पतालका निमित्त प्रमुख डा. अमनकृष्ण रञ्जितले अस्पतालमा औषधी सकिएको बारे सामाजिक विकास मन्त्रालय, कर्णाली प्रदेशमा पत्राचार गरिएको बताए । अस्पतालको फार्मेसीबाट शुल्क लिएर वितरण गरिने केही औषधिको अभाव भएको र केही औषधी भने आउन बाँकी रहेको डा. रञ्जितले बताए ।

विगतमा निःशुल्क पाइने औषधिसमेत जाजरकोट अस्पतालबाट पाइन छाडेको छ । १५ शैयाको अस्पतालको क्षमता विस्तार गरी ५० शैयाको भएसँगै अस्पताल आफैँ सक्षम हुनुपर्ने नीति रहेको हुँदा अस्पतालबाट निःशुल्क वितरण गर्ने कार्य बन्द गरिएको समेत डाक्टर रञ्जितले बताए ।

विगतमा अस्पतालले निःशुल्क दिने औषधी किन्नुपरेको तथा अस्पतालको फार्मेसीमा पनि औषधि नपाइएको भेरी नगरपालिका-३ का शङ्कर शाहीले बताए । अस्पतालमा औषधि अभाव रहेको एक महिना अघि नै प्रशासनलाई गराए पनि सुनुवाइ नभएको फार्मेसीले जनाएको छ ।


दिनेशकुमार श्रेष्ठ