जहाजको टिकट पाउन सकस, बिरामी स्टेचरमै फर्कन बाध्य

  ०७८ कात्तिक १३ गते

सडक सञ्जालले नछोएको हुम्ला जिल्लामा असोज २० गतेदेखि जहाजको टिकट लिन समस्या भएको छ ।

नेपाल वायुसेवा निगमको जहाजले ०७८ वैशाखबाट हुम्लामा उडान नभरेपछि निजी जहाजहरूले आवश्यकता भन्दा पनि पहुँचको भरमा टिकट वितरण गर्दा बिरामीहरूले टिकट नपाएको स्थानीयले गुनासो गरेका छन् ।

खार्पुनाथ गाउँपालिका– १ प्युसका ६० वर्षीय वीरजित शाही १५ वर्षदेखि दम रोगले थला परेपछि कात्तिक ७ गते जिल्ला बाहिर लैजानको लागि आफन्तले विमान स्थलमा पुर्‍याए पनि तारा र समिट एयरका कर्मचारीहरूले टिकट नदिएपछि स्टेचरमै बोकेर फिर्ता ल्याउनु परेको आफन्त धिरेन्द्र शाहीले आरोप लगाउनुभयो ।

photo20211030humla2

पाँच घन्टा स्ट्रेचरमा बोकेर जिल्ला अस्पतालमा ल्याएका बिरामीको उपचार हुन नसकेपछि कात्तिक ७ गते प्रदेश अस्पताल सुर्खेतमा रिफर गरेको डाक्टर देव गजमेरले बताउनुभयो ।

‘टिकटका लागि भित्र जान खोज्दा प्रहरीले गेटमै रोक्यो । निकै अनुरोध गरेपछि भित्र गइयो तर, एयरलाइन्सका कर्मचारीले टिकट छैन भने’ बिरामीका जुवाइँ खडकबहादुर शाहीले भन्नुभयो ‘बिरामीलाई मात्रै एउटा टिकट दिए । कुरूवाले नपाउँदा घर फर्कियौं ।’

प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले निजी एयरलाइन्सको मनपरीका कारण सर्वसाधारणले सास्ती व्यहोरिरहेको बताउनु भयो । हाल १२ जना बिरामी विमानस्थलमा टिकटको पर्खाइमा रहेको भन्दै उहाँले प्रहरी परिचालन गरेर भए पनि पहिचान खुलाएर टिकट दिलाउने प्रतिबद्धता जनाउनुभयो ।

वायु सेवा निगमको जहाजलाई नियमित सुचारू गर्न पर्यटन मन्त्रालयलाई अनुरोध गरेको  कांग्रेस नेता जीवनबहादुर शाहीले जानकारी दिनु भयो ।

photo20211030humla 1


नन्द सिंह