जलवायु परिवर्तन र द्रुत सहरीकरणले तापक्रमको चुनौतीः राष्ट्रसङ्घ

  ०८१ कात्तिक २२ गते

युएन ह्याबिटेटले जलवायु परिवर्तन र द्रुत सहरीकरणले निम्त्याएका प्रमुख चुनौतीहरूमा केन्द्रित रहेको विश्व शहर प्रतिवेदन सार्वजनिक गरेको छ । विश्व शहरी फोरमको बाह्रौँ सत्रसँगै जारी गरिएको प्रतिवेदनले सन् २०४० सम्ममा २ अर्बभन्दा बढी सहरवासीले कम्तीमा पनि ०.५ डिग्री सेल्सियसको अतिरिक्त तापक्रम खप्नुपर्ने उल्लेख गरेको छ ।

युएन ह्याबिटेटका कार्यकारी निर्देशक एनाक्लोडिया रोसबाखले भन्नु भएको छ–‘सहरका कुनैपनि बासिन्दाले अतिरिक्त तापमान बृद्धिको मारबाट मुक्ति पाउने छैनन् ।’

सो प्रतिवेदनले सहरी क्षेत्रमा जलवायु परिवर्तनसँग लड्नका लागि प्रयासहरू भइरहेको र बढ्दो चुनौतीहरू सम्बोधन गर्न आवश्यक मापदण्डको कमी रहेको सार्वजनिक प्रतिवेदनमा उल्लेख छ ।

‘सहरहरूलाई जलवायु उत्थानशील प्रणालीहरू विकास गर्न र कायम राख्न वार्षिक रुपमा युएसडी ४.५ देखि ५.४ ट्रिलियन चाहिन्छ तर हालको वित्तपोषण युएसडी ८ सय ३१ बिलियन मात्र रहेको छ । जो आवश्यक रकमको एक अंश मात्र रहेको छ ।’–प्रतिवेदनमा उल्लेख छ । युएसडीको कमीले शहर र शहरका जनसङ्ख्या बढ्दो जोखिममा परेको सो प्रतिवेदनले देखाएको छ ।

अव्यवस्थित तरिकाले शहरी क्षेत्र विस्तार हुँदै गएकाले हरियाली नास हुँदै आएको छ । सन् १९९० मा शहरी क्षेत्रमा हरितस्थलको हिस्सा औसतमा १९.५ प्रतिशत थियो तर सन् २०२० मा घटेर १३.९ प्रतिशत कायम भएको थियो । यस्तो स्थिति आउनु चिन्ताजनक भएको यूएन ह्याबिटेटले जनाएको छ ।

हरियाली बढाउने नाममा यदि कुनै ठाउँमा पार्क बनाइयो भने त्यहाँबाट निर्धन घरपरिवार विस्थापित हुन बाध्य हुन्छ र जग्गाको मूल्य समेत बढ्ने हुँदा उसले घर बनाएर बस्न समेत सक्दैन । त्यसैले गरिब परिवारको जीवनयापन कठिन हुने गरेको छ ।

जलवायु परिवर्तनको गहिरिँदो असरसँगै शहरी गरिबले झन् बढी समस्या भोग्नु परिरहेको छ । त्यसैले विज्ञहरुले त्यस्ता क्षेत्रका समस्या पहिल्याने मात्र नभई समस्या समाधानका उपायमा पनि जोड दिने गरेका छन् ।

विश्व शहर प्रतिवेदन  पढ्न यहाँ क्लिक गर्नु होला


पार्वती साउद