बालसुधार गृह भवनको तीन तलामाथिबाट हामफालेर भाग्न खोज्दा बालबन्दी घाइते

  ०८१ वैशाख ११ गते

डुडुवा गाउँपालिका–६, आसमानपुर स्थित ०८१ वैशाख ११ गते जयेन्दु बालसुधार गृह भवनको तीन तल्ला माथिबाट हामफालेर भाग्न खोज्दा १७ वर्षीय बालबन्दी घाइते हुनुभएको छ ।

बालसुधार गृहको नाइकेले बालकलाई साना साना गल्तीमा दिनहुँ पिट्ने गरेकोले डरले पिट्छन् कि भनेर भाग्न खोजेको बालकले बताउनु भयो । जयेन्दु बालसुधार गृहमा बस्न पढाइ लेखाइ, खेलकुद तथा खानपानको केही समस्या नभएको र यसभन्दा पहिला पनि भाग्न खोज्दा आफूहरूले समातेर ल्याइएको जयेन्दु बालसुधार गृहका कार्यालय प्रमुख बिमला काउचा मगरले बताउनु भयो ।

उहाँका अनुसार बालक तीन तलामाथिबाट हामफालेर भाग्न खोजेको र घाइते भई भाग्न नसकेपछि उपचारको लागि घुमुवा प्रहरीको जिम्मा लगाई भेरी अस्पतालमा पठाएको प्रमुख मगरले इन्सेकलाई जानकारी दिनुभयो । बालकको स्वास्थ्य उपचार भेरी अस्पताल, नेपालगञ्जमा भइरहेको छ ।

बालकले ०८० कात्तिक ३० गते चोरी गरेको भन्दै पीडितले मङ्सिर ५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनुभएको थियो । बालकलाई जिल्ला प्रहरी कार्यालयमा दुई दिन राखेर जयेन्दु बाल सुधार गृहमा पठाइएको थियो ।

Photo23042024Banke


ध्रुबराज शर्मा