जयेन्दु बालसुधार गृहका १४ जना बालकलाई जिल्ला प्रहरी कार्यालयको जिम्मा

  ०८१ मङ्सिर ९ गते

डुडुवा गाउँपालिका–६, आसमानपुरस्थित जयेन्दु बालसुधार गृहमा ०८१ मङ्सिर ८ गते तनाव सृजना भएपछि १४ जना बालकलाई जिल्ला प्रहरी कार्यालयको जिम्मा लगाएको छ ।

बालकहरूबीच तनाव सृजना भएपछि १४ जना बालकहरूलाई एउटा ब्लकमा ढोका बन्द गरी राखेका थिए । ती १४ जनालाई अन्त व्यवस्थापन गर्नका लागि जिल्ला प्रहरी कार्यालयले आफ्नो जिम्मा लिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी आयुश जोशीले बताउनु भयो ।

जयेन्दु बालसुधार गृहमा क्षमताभन्दा बढी बालबन्दी राख्दा बालकहरूको पठनपाठन र स्वास्थ्यमा समस्या, सीपमूलक, रोजगारमूलक तालिम नपाएको बालबन्दीहरूले बताएका छन् । जयेन्दु बालसुधार गृह प्रमुख विमला काउचा मगरका अनुसार १ सय ९० जनाको क्षमता भएको बालसुधार गृहमा हाल २ सय ७१ जना बालकहरू राखिएको छ ।

बालसुधार गृहमा रहेका बालकहरूबीच इन्सेक जिल्ला प्रतिनिधि, सहायक प्रमुख जिल्ला अधिकारी, जिल्ला अदालतका श्रेस्तेदा, जिल्ला प्रहरी कार्यालयका डिएसपी, सशस्त्र प्रहरी डिएसपी र जयेन्दु बालसुधार गृहका प्रमुखको सहभागितामा छलफल गरी सहमति भएपछि बालकहरूलाई प्रहरीले ल्याएको थियो ।


ध्रुबराज शर्मा