जन्म दर्ता नहुँदा इलाम कारगारमा आश्रति बालबालिकालाई पढाउन समस्या

  ०७३ भदौ ११ गते

विभिन्न मुद्दामा कैद भुक्तान गरिरहेका आमाहरूसँग आश्रति इलाम जिल्ला कारागारमा रहेका बालबालिकाको जन्म दर्ता नहुँदा उनीहरूलाई पढाउन समस्या भएको कारागार प्रशासनले जनाएको छ । आमाको नागरिकता नभएकाले र केहीको आमा जेल परेपछि बाबु सम्पर्कमा नरहेकाले ती बालबालिकाको जन्म दर्ता गराउन समस्या भएको कारागार प्रमुख सिर्जना लुईंटेलले बताइन् ।

जिल्ला कारागारमा अहिले तीन वर्षीय अञ्जान बस्नेत, चार वर्षीया स्मृति राई, दुई वर्षीय इश्वर श्रेष्ठ र तीन वर्षीय निसान राईको जन्म दर्ता नहुँदा विद्यालय जाने उमेरमा समस्या आएको लुईंटेलले जानकारी दिइन् ।

'यी बालबालिकाको आमाको पनि नागरिकता छैन । बाबुको पत्तो छैन । अब कसरी जन्मदर्ता गराउने भन्ने समस्यामा छौं । उनीहरूको जन्मदर्ता सम्बन्धित जिल्ला र गाविसका गाविस सचिवहरू कारागारमै आएर बनाइदिए एउटा विकल्प हुनसक्छ ।'-उनले भनिन् -'अन्य जिल्लाका बालबालिकाको जन्म दर्ता गर्न गाविस सचिवहरू यहाँ आउन पनि सम्भावना हुँदैन कि !' यी बालबालिकाका आमाहरू हिमा बस्नेत, पम्फा राई र जुनु श्रेष्ठको नागरिकता पनि नभएको लुईंटेलले बताएकी छन् ।

'कारागारमा आश्रति बालबालिकालाई पढाइ दिने थुप्रै सङ्घसंस्था आउँछन् । तर, उनीहरूले पनि जन्मदर्ता खोज्ने हुँदा विद्यालय जान उमेर पुग्दै गएका बालबालिकाको जन्म दर्ता कसरी बनाएर पढ्न पठाउने भन्ने अन्योल भएको छ ।'-कारगार प्रमुख लुईंटेलले भनिन् ।


कोकिला ढकाल