जन्मदर्ता नहुदाँ छुट्यो पढाई !

१३ वर्षीया जुना र ११ वर्षीया लक्ष्मी तामाङका हत्केलाभरी ठेलैठेला छन् । पढाई छुटेपछि यी दिदीबहिनीका कलिला हातले गिटी कुट्नु दिनचर्या बनेको छ । आफ्नो उमेरकाहरू स्कुल गइरहँदा उनीहरू घन लिएर ढुङ्गासँग पैठेजोरी खेलिरहेका हुन्छन् । मकालु गाउँपालिका–५ नुममा उनीहरू ढुङ्गालाई टुक्रा टुक्रा बनाएर भविष्य खोजिरहेका छन् ।

कलम, कापी र किताब च्यापेर स्कुल जाने बेला ठूला ढुङ्गालाई घनको सहायताले फुटाउँदै गरेको देख्दा जो कोहीको पनि मन चसक्क हुन्छ । सोलुखुम्बु सोताङ घर भएका उनीहरूको जन्मदर्ता बनेको छैन । यही कारण उनीहरूले पढ्न नपाएको खाँदबारी नगरपालिकाका नायब सुब्बा सुरेश कार्कीले बताए ।

‘जन्मदर्ता नभएपछि उनीहरू पढाइबाट वञ्चित बनेका रहेछन् ।’–नुम पुगेका कार्कीले भने–‘उनीहरूको अवस्था निकै दर्दनाक रहेछ ।’ उनीहरू पढ्ने वातावरण बनाउन आफैँ लागिपरेको कार्कीको भनाई छ । पढ्ने रहर अधुरै रहेपछि दिदीबहिनीले किमाथाङ्का–विराटनगर सडक आसपास गिट्टी कुट्ने गरेको उनले सुनाए ।

उनीहरूकी आमा पूर्णीमायाको मृत्यु ०७२ सालमा भएपछि मानसिक सन्तुलन गुमाएका बुवा सन्चे तामाङको अत्तोपत्तो छैन । ‘स्कुल जान नपाएपछि पढ्ने रहर मारेर दाजुसँगै गिट्टी कुटेर बसिरहेका छौँ ।’–जुनाले भनिन्–‘बिहान–बेलुकासँगै खेल्ने साथी विद्यालय जान्छन् । हामी भने गिट्टी कुट्न र ज्यालामा काम गर्न जान्छौँ ।’

उनीहरूका दाजु प्रशान्त भन्छन्–‘श्रम गरेर बहिनीहरूलाई पढाउने धोको छ । तर, स्कुलले जन्मदर्ता माग्यो ।’–उनले भने–‘त्यो नभएपछि बहिनीहरूलाई पढाउन सकेको छैन ।’ नुमको सिंहेश्वरी माविले जन्मदर्ता नभएका कारण भर्ना लिन नमानेको उनले सुनाए । बावुआमा नभएकाले सोताङ गाउँपालिकाले जन्मदर्ता नगरिदिएको उनको भनाई छ । जन्मदर्ता गरेर पढाउने वातावरण बनाइदिन उनले आग्रह गरे । जन्मदर्ताकै अभावमा प्रशान्तका १८ वर्षीय भाइ लाक्पाले नागरिकता बनाउन पाएका छैनन् ।

पूर्णीमायाले पहिलो पतिको मृत्युपछि दोस्रो विवाह गरेकी थिइन् । प्रशान्त र लाक्पा पहिलो पतितर्फका हुन् भने जुना र लक्ष्मी दोस्रो पतितिरका । प्रशान्तले भाइबहिनीलाई साथमा राखेका छन् । सोलुमा भएको घरजग्गाले खान नपुग्ने र सहारा दिने कोही नभएपछि काम खोज्दै तीन वर्षअघि मकालु गाउँपालिका आइपुगेको उनले सुनाए । उनका अनुसार सोताङकै स्कुलमा पछि जन्मदर्ता पेश गर्ने सर्तमा जुनाले ४ र लक्ष्मीले २ कक्षासम्म पढे । आमाको मृत्यु र बावु ‘बेपत्ता’ भएपछि स्कुलले जन्मदर्ता खोज्यो । त्यसपछि पढाई रोकिएको उनको भनाइ छ ।

उनीहरूले एक सातामा एक ट्याक्टर गिट्टी तयार पार्छन् । सो गिटी ६ देखि ७ हजार रुपियाँसम्ममा विक्री हुने गरेको प्रशान्तले सुनाए । दिनभरको कमाइले कोठाको भाडा तिर्न र खान धौधौ परिरहेको उनको भनाई छ ।


बाबुराम बास्तोला