जनशक्ति अभावमा भेण्टिलेटर सञ्चालनमा आउन सकेन

मध्यबिन्दु जिल्ला अस्पताल नवलपुरमा जनशक्तिको अभावमा भेण्टिलेटर सेवा सञ्चालनमा आउन सकेको छैन ।

गत वर्ष भदौमा जिल्ला अस्पतालमा जडान गरिएका तीन ओटा भेण्टिलेटर अहिलेसम्म सञ्चालन आउन नसकेको अपस्तालका अध्यक्ष मेडिकल सुपरिटेण्डेण्ट वीरबहादुर थापाले बताउनुभयो ।

भेण्टिलेटर सञ्चालनको लागि एनेस्थेसियोलजिष्ठ र फिजिसियनको आवश्यकता हुन्छ । तर, जिल्ला अस्पतालमा एनेस्थेसियोलजिष्ट, फिजिसियनको दरबन्दी नै कायम गरिएको छैन ।

जिल्ला अस्पताललाई विशेषज्ञ सेवा तर्फको विज्ञापन र पदपूर्ति गर्ने अधिकार नभएको कारण हालसम्म पदपूर्ति गर्न नसकेको अस्पतालका सूचना अधिकारी छविलाल सुवेदीले बताउनुभयो ।

गण्डकी प्रदेश सरकारको सहयोगमा गत आर्थिक वर्षको असार मसान्तमा दुई ओटा र यस आर्थिक वर्षको भदौमा थप एउटा भेण्टिलेटर प्राप्त भएको थियो ।

सुरुवाती समयमा भेण्टिलेटर जडानको काममा नै समय लागेको जिल्ला अस्पतालमा, जडानपछि पनि सञ्चालनमा आउन सकेको छैन ।

जिल्ला अस्पतालमा तीन ओटा भेण्टिलेटर सहितको पाँच बेडको आइसियू सञ्चालन गर्न प्रदेश सरकारले सहयोग गरेको थियो ।

आइसियू सञ्चालन भएपनि भेण्टिलेटर सञ्चालनको लागि आवश्यक जनशक्तिको व्यवस्थापन हुन नसक्दा समस्या सिर्जना भएको हो ।

हाल कोभिड १९ सङ्क्रमणको भयावह अवस्थामा यसको आवश्यकता धेरै नै रहेको छ । कोभिड–१९ सम्बन्धी उपचारको लागि आउने बिरामीहरुलाई आइसियू र भेण्टिलेटरमा समेत राखेर उपचार गर्नुपर्ने हुन्छ ।

तर, जिल्ला अस्पतालमा उपकरण भएपनि सञ्चालन नहुँदा सेवाग्राहीहरु छिमेकी जिल्ला चितवन पुग्नुपर्ने बाध्यता रहेको छ ।


तिर्थराज डुम्रे