जनशक्ति अभावमा आइसीयू सञ्चालन नहुँदा बिरामी मर्कामा

फालेलुङ गाउँपालिका–८ का ५७ वर्षीया राधादेवी लिम्बू ज्वरो, डेङ्गी र मृगौलाको समस्याका कारण ०८० असोज १२ गते जिल्ला अस्पतालको इमर्जेन्सी वार्डमा भर्ना हुनु भयो ।

उहाँलाई जाँचपड्तालपछि स्वास्थ्यकर्मीले मृगौलामा जटिल समस्या भएकाले अस्पतालमा आइसीयू (सघन उपचार कक्ष) नभएको र समयमै सुविधा सम्पन्न अस्पताल पुर्याउन नसके ज्यान तलमाथि हुनसक्ने भन्दै सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान,घोपा लैजान बिरामीका आफन्तलाई सल्लाह दिए । अहिले आमालाई घोपामा उपचार गराइरहेको छोरा प्रकाशले बताउनु भयो ।

‘‘बिरामीको उपचार भन्दा बढी एम्बुलेन्स भाँडा र कुरुवाको खाना, खाजामा खर्च हुन्छ’’, प्रकाशले भन्नुभयो । पूर्वी पहाडका पाँचथर, ताप्लेजुङलगायत जिल्लाका धेरै बिरामी र बिरामीका आफन्तले वर्षौंदेखि यस किसिमको सास्ती भोग्नु परेको छ ।

जिल्ला अस्पतालमा सघन उपचार सेवा (आइसीयू) सेवा नहुँदा रेफर हुनुपर्ने राधादेवीजस्ता बिरामी निकै छन् । गएको आर्थिक वर्ष ०७९/०८० मा जिल्ला अस्पतालबाट १ सय १० जना महिला र ८२ जना पुरुष गरी १ सय ९२ जनालाई रेफर गरिएको अस्पतालको तथ्याङ्क छ ।

जिल्ला अस्पतालमा सघन उपचार सेवा (आइसीयू) सञ्चालन हुन नसक्दा धेरै स्वास्थ्यग्राहीहरु सघन उपचार सेवा लिनबाट वञ्चित हुनु परेको छ ।

दक्ष जनशक्ति नहुँदा जिल्ला अस्पतालमा प्रयोगविहीन उपकरण ।
दक्ष जनशक्ति नहुँदा जिल्ला अस्पतालमा प्रयोगविहीन उपकरण ।

जिल्ला अस्पतालमा ०७८ मा २ करोड लागतमा नेपाल सरकारबाट उपकरण उपलब्ध भएता पनि ती उपकरणहरु प्रयोगमा आउन सकेका छैनन् ।

नेपाल सरकारबाट ६ थान भेण्टिलेटर र पाँच थान डायलाइसिस मेसिन उपलब्ध भएपनि दक्ष जनशक्ति र औषधि अभावमा उपकरणलाई प्रयोगमा ल्याउन नसकिएको जिल्ला अस्पतालका सूचना अधिकारी नारायण जोशीले बताउनु भयो ।

अस्पतालमा १० शैयाको आइसीयू छ । तर दक्ष जनशक्तिको अभाव र आइसीयूको लागि प्रयोग हुने औषधि अभावका कारण सेवा सञ्चालन हुन सकेको छैन ।

“१० शैयाको आइसीयू सञ्चालन गर्न आठ घण्टाको सिफ्टमा ड्युटी मिलाउने हो भने पनि एनेस्थेजियोलोजिस्ट डाक्टर र सहायकसहित ५० जना जनशक्तिको  आवश्यकता पर्छ, नेपाल सरकारले दरबन्दी एकदम कम मात्र खुलाउँछ, त्यसकारण  पहाडी दुर्गम क्षेत्रमा आइसीयू सञ्चालन हुन असम्भव जस्तै छ ।” जिल्ला अस्पतालका सूचना अधिकारी नारायण जोशीले भन्नु भयो ।

आइसीयू सञ्चालनका लागि सबैभन्दा ठूलो समस्या दक्ष जनशक्तिकै छ । ‘‘जिल्ला अस्पतालमा एकजना एनेस्थेजियोलोजिस्ट डाक्टर हुनुहुन्छ, उहाँ पनि अबको चार महिनामा जाँदैहुनुहुन्छ’’, जिल्ला अस्पतालका प्रमुख, मेडिकल सुपरिटेन्डेण्ट डाक्टर बुद्धिबहादुर थापाले भन्नुभयो ।

मेसु थापाका अनुसार आइसीयू सञ्चालन हुन नसक्नु र अस्पतालमा सधैँ दरबन्दी अनुसारको जनशक्तिको अभाव हुनुमा मुख्य चार कारण छन् । दुर्गम क्षेत्रमा सेवादिने स्वास्थ्यकर्मीहरुलाई उचित सेवा सुविधा नहुनु, काम गर्ने वातावरण नहुनु, सुरक्षामा चुनौती र भौगोलिक कठिनाई ।

नेपाल अधिराज्यभरी सुगम र दुर्गम दुवै क्षेत्रमा काम गर्ने कर्मचारीले पाउने सेवासुबिधा उस्तै हुदाँ सबैले सुगम क्षेत्ररोज्ने हुँदा हिमाली र दुर्गम पहाडी क्षेत्रले दरबन्दी अनुसारको चिकित्सक नपाएको मेसु थापाको भनाइ छ ।

जिल्ला अस्पताल पाँचथरमा जिल्लाका साथै छिमेकी जिल्ला ताप्लेजुङ र तेहृथुमबाट पनि सेवा लिन आउने गरेका छन् । अस्पतालबाट सघन उपचार सेवा दिन सकिए सिकिस्त तथा गम्भीर प्रकृतिका बिरामीलाई ठूलो राहत पुग्ने र रेफर गर्नुपर्ने अवस्थामा कमी आउने मेडिकल अधिकृत थापाको भनाइ छ ।

आइसीयू उपकरण भएर पनि सञ्चालनमा नआएको कारण सुविधाबाट बञ्चित हुनु दुर्गम क्षेत्रका सेवाग्राहीका लागि दुखद अवस्था भएको डाक्टर बुद्धिबहादुर थापाको भनाइ छ ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष, जिल्ला समन्वय समिति प्रमुख रामराज आङदेम्बेले जिल्ला अस्पतालले ५० शैयाको स्वीकृति पाए पनि १५ शैयाकै बजेटबाट सञ्चालन भइरहेको बताउनु भयो । ‘‘आइसीयूको लागि छुटै संरचना छ, तर तत्काल सञ्चालन गर्न कठिन छ, मन्त्रालयमा पत्राचार चाहिँ गरिसकेका छौँ’’ आङदेम्बेले भन्नुभयो ।

फिदिम नगरपालिकाका मेयर मित्रप्रसाद काफ्लेले भन्नुभयो, ‘‘जनशक्तिको अभाव छ, त्यसको व्यवस्थापन भयो भने आइसीयू सञ्चालन हुन सक्छ, फिदिम नगरपालिकाले गत आर्थिक वर्षमा दक्ष जनशक्ति व्यवस्थापनका लागि ७ लाख रुपियाँ बजेट विनियोजन गरेको थियो ।’’ फिदिम नगरपालिका अस्पताल विकास  समितिको सदस्य पनि रहेकाले नीति निर्माण तहबाटै सुधारको प्रयास भइरहेको  मेयर काफ्लेको भनाइ छ ।

नेपालको संविधान ०७२ को धारा ३५ ले स्वास्थ्य सम्बन्धी हकलाई मौलिक हकका रुपमा व्याख्या एवम् व्यवस्था गरेको छ ।

सोही धाराको उपधारा १ मा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निशुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिने छैन भन्ने व्यवस्था छ ।

Photo 202301012 Pachathar (1)

Photo 202301012 Pachathar (2)


इवारा जवेगु लिम्बू