जनप्रतिनिधिले नै विद्यालय भत्काएपछि सडकमै कक्षा सञ्चालन

जनप्रतिनिधिले नै विद्यालय भत्काएपछि श्री राजर्षी जनक उच्च माध्यमिक विद्यालयले कात्तिक ८ गते सडकमै कक्षा सञ्चालन गरेको छ ।

कक्षा कोठा अपुग भएपछि जनकपुरधाम उपमहानगरपालिका–२१ कुर्था स्थित श्री राजर्षी जनक उच्च माध्यमिक विद्यालयले सडकमा पठनपाठन सुरू गरेको हो ।

बैशाख महिनाको पहिलो सातामा वडा अध्यक्ष रामेश्वर महासेठले सडक निर्माणका लागि भन्दै विद्यालयको कक्षा कोठा र कम्पाउण्ड भत्काउन लगाएका थिए । केही कक्षा कोठा र कम्पाउण्ड वाल सडकमा परेकोले भत्काउनु परेको वडा अध्यक्ष महासेठले बताए ।

६ महिना बितिसक्दा समेत कक्षा कोठा निर्मााण नभएपछि सडकमै कक्षा सञ्चालन गर्न बाध्य भएको विद्यालयका प्राध्यानाध्यापक बीरेन्द्रप्रसाद यादवले बताए ।

शैक्षिक सत्रको सुरू भएको ६ महिना भन्दा बढी भइ सक्यो तर, वडा कार्यालय तथा उपमहानगरपालिकाले कक्षा कोठाको व्यवस्थापनमा ध्यान नदिएपछि बाध्य भएर सडकमै पढाउन बाध्यता भएको प्रअ यादवले बताए । विद्यालयका विद्यार्थीले भत्किएको कोठामा पठनपाठन गराउँदा सडकको धुँलो कोठामा पर्ने र बालबालिकामा रूघाँ खोकी, आँखा पाक्ने र श्वासप्रवासमा समस्या भोग्दै आएका छन् ।

यसरी विद्यार्थीको पढाई प्रभावित हुँदै आएकोमा विद्यार्थीहरू बाध्य भएर सडकमै पठन पाठनको माग गरेपछि आफूहरू बाध्य भएर सडकमै अध्ययन अध्यापन गराउन बाध्य भएको प्रअ यादवले जानकारी दिए ।

विद्यार्थीहरूलाई १२:०० बजेको टन्टलापुर घाममा पढाउनु परेको शिक्षक भुपेनेश्वर रायले बताए । सोही विद्यालयमा कक्षा १० मा अध्ययनरत विद्यार्थी चन्दाकुमारी मण्डलले आफूहरूको एसईई परीक्षा आउन केही महिना मात्र बाँकी रहेपनि कक्षा कोठा अभावका कारण नियमित अध्ययन अध्यापन नभएको गुनासो गरे ।

सडक फराकिलो गर्ने नाममा विद्यालयको कक्षा कोठा वैशाखमै भत्काइयो तर, त्यसको व्यवस्थान नभएर पूरै स्कूल अवस्था लथालिङ भएको विद्यार्थी मण्डलले बताइन् । विद्यालयको भवन भत्काएकै ठाउँमा हाल वडा कार्यालयको स्थापना गरिएको छ । सडकमा विद्यार्थीहरूलाई शिक्षकहरूले मास्क लगाएर अध्ययन अध्यापन गराइरहेका छन् ।


विनोदकुमार रविदास