जनप्रतिनिधिले कुटपिट गरेको आरोप, न्यायका लागि पहल गरीदिन इन्सेकलाई निवेदन

  ०८० भदौ २५ गते

भोक्राहा नरसिंह गाउँपालिका-५ का २८ वर्षीय अक्रामुल मियाँ र १८ वर्षीय शमसेर मियाँले इनरूवा नगरपालिका-९ का ४२ वर्षीय वडाध्यक्ष बसिरमुद्दिन मञ्सुरीले कुटपिट गरेको आरोप लगाउनु भएको छ ।

जनप्रतिनिधिले कुटपिट गरेका न्यायका लागि पहल गरीदिन पीडितद्वयले इन्सेकमा निवेदन र जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनु भएको छ ।

इनरूवा नगरपालिका-९ स्थित बवियाभएर जाने सार्वजनिक बाटोमा ट्रयाक्टर कुदाँएको आरोपमा वडाध्यक्षले ०८० भदौ २२ गते कुटपिट गरेको पीडित पक्षको आरोप छ ।

वडाध्यक्षले सार्वजनिक बाटोमा मलाई नसोधी किन ट्रयाक्टर कुदाँएको भन्दै कुटपिट गरेको पीडित ट्रयाक्टर चालक अक्रामुल मियाँले बताउनु भयो ।

सार्वजनिक बाटोमा किन ट्रयाक्टर कुदाँएको भन्दै अश्लिल गालीसहित वडाध्यक्षले कुटपिट गरेको ट्रयाक्टरका सहचालक शमशेर मियाँले बताउनु भयो ।

कुटपिटबाट आफूहरू पीडित भएको भन्दै पीडित पक्षले न्यायका लागि पहल गरीदिन इन्सेक सुनसरीमा भदौ २४ गते निवेदन दिएका छन् ।

पीडितहरूले आरोपितविरूद्ध सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् ।

पीडित पक्षले इन्सेकलाई निवेदन दिएपछि इन्सेकले वडाध्यक्षसँग घटनाको विषयमा जानकारी दिएको छ ।

इन्सेकसँग आरोपित वडाध्यक्ष बसिरमुद्दिन मञ्सुरीले ट्रयाक्टर चालकले आफ्नो जग्गाबाट ट्रयाक्टर कुदाँएपछि रोकेको तर कुटपिट नगरेको बताउनु भयो ।

पीडित पक्षको निवेदनपछि इन्सेकले जिल्ला प्रहरी कार्यालयका एसपी विपिन रेग्मीलाई घटनाका विषयमा जानकारी लिएर कारबाही बढाउन आग्रह गरेको छ ।

एसपी रेग्मीले घटनाका विषयमा अनुसन्धान गर्ने र तत्काल घाऊजाँच प्रक्रिया अघि बढाएको बताउनु भएको छ ।

कुटपिटबाट घाइते भएकाद्वयको जिल्ला अस्पतालमा भदौ २३ गते उपचार गरिएको छ ।

Photo 2023911 sunsari (2)


जयकृष्ण यादव