जनप्रतिनिधिले कुटपिट गरेको पीडितको आरोप

  ०७९ माघ २५ गते

चौदण्डीगढी नगरपालिका-९ का २८ वर्षीय राकेश हुजदारलाई वडाध्यक्ष ४३ वर्षीय प्रकाश राउतले माघ २४ गते कुटपिट गरी दायाँ हात भाँचिदिएको आरोप पीडितले लगाउनु भएको छ ।

चौदण्डीगढी नगरपालिका-९ पश्चिम ज्यामिरेस्थित द्धारखोलाबाट माघ २४ गते वडाध्यक्ष प्रकाश राउतेको जेसीवीले मनोमानी ढुङ्गा निकालेपछि सो विषयमा आफूले जिज्ञासा राख्दा वडाध्यक्षले कुटपिट गरी दाँया हात भाँची दिएको पीडितको आरोप छ ।

ज्यामिरे क्षेत्रमा वन समितिले गिट्टी बालुवा निकासी गर्न रोक लगाएको भएपनि वडाध्यक्ष राउतले मनोमानी रुपमा जेसीवीको प्रयोग गरी गिट्टी बालुवा तस्करी गरेको आरोप नेपाली काङ्ग्रेस चौदण्डीगढी नगरसमितिको छ ।

Photo 20230207 Udayapur (2)

माघ २४ गते नगर सभापति राजेन्द्रप्रसाद पौडेल र वडा सभापति शिवकुमार गेलालले संयुक्त विज्ञप्ती जारी गरी वडाध्यक्ष राउतले पटकपटक जनतामाथि हातपात र ज्यादती गर्दै आएको भन्दै घटनाको भत्सना गरेका छन् ।

‘जनप्रतिनिधिबाटै जनता असुरक्षित रहनुले के संकेत गर्छ ? यस्ता जनप्रतिनिधिको ज्यादती लोकतन्त्रमा सह्य हुनेछैन ।’ जारी विज्ञप्तिमा उल्लेख छ ।

घटनाको सत्यतथ्य छानविन गरी दोषीमाथी कारबाही गर्न विज्ञप्तिमा माग गरिएको छ ।

Photo 20230207 Udayapur (1)

चौदण्डीगढी नगरपालिकाले माघ २४ गते विज्ञप्ति जारी गर्दै योजना अनुगमनमा निस्किएका वडाध्यक्ष माथि पूर्वाग्रही ढंगबाट अनावश्यक वादविवाद सिर्जना गरी गालीगलौज, दुर्व्यवहार र हातपात समेत गरेको जनाएको छ ।

कुटपिटबाट घाइते भएका पीडितको वेल्टार अस्पतालमा माघ २४ गते उपचार गरिएको छ ।


राकेश नेपाली